
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब १५ गुणा बढी आवेदन परेको छ । प्राथमिक बजारमा तीन महिनापछि आईपीओ निष्कासनले निरन्तरता पाएको हो । गत कात्तिकमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको थिएन ।
लामो समयपछि निष्कासनमा आएको आईपीओ खरिदमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिन ५ लाख ८१ हजार ४९८ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यी आवेदनहरुबाट ७२ लाख ६५ हजार ४६० कित्ताको आईपीओ खरिद माग भएको सिडिएससीको भनाई छ ।
कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ ।
यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि माघ २५ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्ता पूँजी रू. १६ करोड पुग्नेछ ।
पछिल्लो समय एकै पटक माघ ९ गते ६ कम्पनीहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएका छन् । बोर्डले एकै पटक जाल्पा सामुदायिक लघवित्तसँगै बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थ, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो । स्वीकृति पाएका ६ कम्पनीहरुमध्य जाल्पा सामुदायिक लघुवित्तले सबैभन्दा पहिला आईपीओ निष्कासन गरेको हो ।
जाल्पा वाहेक इमर्जिङ्ग नेपाल लिमिटेड र बलेफी हाइड्रोपावरले आईपीओ निष्कासनको मिति तय गरिसकेका छन् । इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि सर्वसाधारणका लागि र बलेफी हाइड्रोपावरले पहिलो चरणमा माघ २७ गतेदेखि आयोजना प्रभावित स्थायिनमा आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्कासनको स्वीकृति पाईसकेका ग्रीन भेन्चरस् लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले भने यो समाचार तयार गर्दासम्म सार्वजनिक निष्कासनको मिति तय गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस