aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

काठमाडौं । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साझ ६ बजेरर १५ मिनेटसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन । कम्पनीको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । 

प्राथमिक बजारमा तीन महिनापछि निष्कासनमा आएको यस कम्पनीको आईपीओ खरिदका लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो । 

आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्ता पूँजी रू. १६ करोड पुग्नेछ ।

हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७६÷७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष ०७७÷७८ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । 

नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपस्किृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष ०७६÷७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ । आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्ज को मूल्य रेञ्ज पाउने देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस