
काठमाडौं । मौद्रिक नीतिमा बिग मर्जरको प्रस्ताव आउने सम्भावना देखिएपछि ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने निर्णयमा पुगेका थिए । तर, बिग मर्जरको प्रस्ताव नआएपछि ती दुवै बैंक मर्जरमा किन गइएछ भन्दै पछुतो मान्न थालेका छन् । पछिल्ले समयमा ती बैंकको मर्जर प्रक्रिया तोडिने सम्भावना बढ्दै गएको छ ।
एक दुई जनाको बहकाउमा लागेर मर्जरमा गएका जनता बैंकका अधिकांश सञ्चालक मर्जरमा जान नहुने पक्षमा देखिएका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको बहकाउमा लागेर मर्जरमा जान नहुने भन्दै जनता बैंकका केही सञ्चालकले लबिङ शुरु गरिसकेका छन् । जनता बैंकमा कार्यरत कर्मचारीले पनि मर्जरमा जान नहुने भन्दै विरोध शुरु गरेका छन् । त्यहाँ कार्यरत कर्मचारीले मर्जरमा जाँदा आफ्नो अस्तित्व समाप्त हुने भन्दै मर्जरमा नजान सञ्चालकलाई दबाब दिइरहेका छन् ।
जनता बैंकका केही सञ्चालक भने मर्जरमा जाने सहमति भइसकेकाले मर्जर तोड्दा अप्ठ्यारो हुने हो कि भन्ने पक्षमा उभिएका छन् । जनता बैंकका कर्मचारी र सञ्चालक मर्जरमा कुनै पनि हालतमा जान नहुने भनेपछि मर्जर बीचैमा तुहिन सम्भावना बढेको छ ।
पछिल्लो समय बिग मर्जर जनता बैंकका केही सञ्चालकका लािग टाउको दुखाइको बिषय बनेको बन्न पुगेको छ । कर्मचारी र सञ्चालकहरुबाटै मर्जर प्रक्रिया छाडनु पर्ने दबाब बढ्दै छ । यतिबेला बिग मर्जरको सहमति गरिसकेका ती बैंकका सञ्चालकलाई मर्जर ओकल्नु न निल्नु बन्न पुगेको छ ।
जनता बैंकका सञ्चालक इतिहासमै यतिधेरै अप्ठ्यारोमा परेको यो पहिलोपटक भएको कर्मचारीहरु बताउँछन् । करिब डेढ महिनाअघि गर्भनर नेपालले बैंकहरुलाई मौद्रिक नीतिपछि ‘बिहे गर्ने, अहिले लभ पार्दै गर्नुस्’ भन्ने आशयको अभिव्यक्ति दिएसँगै ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा गएका थिए । चुक्ता पुँजी बृद्धिलाई आफ्नो सफल कदमको रुपमा लिएका गभर्नर नेपालले त्यही बाटोबाट पच्छाउँदै बिग मर्जर ल्याउने तयारी गरेका थिए । तर, उनलाई त्यो प्रस्ताव ल्याउन निदिएपछि बिग मर्जर हावामा उडेको थियो । बिग मर्जरको लहलहैमा लागेको जनता बैंक ग्लोबल आइएमई बैंकसँग लभ गर्न पुगेको थियो । तर, त्यो लभ बिबाहमा परिणत नहुने संकेत देखिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
मौद्रिक नीतिमा बिग मर्जरको नीति आउने सम्भावना देखिएपछि अन्य बैंकहरु पनि मर्जरमा जाने तयारी गरेका थिए । तर, मौद्रिक नीतिमा विग मर्जरको बाध्यकारी व्यवस्था नगरिएपछि बैंकहरु त्यो बाटो त्यागेर ऋणपत्र निष्कासन गर्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु मर्जरको बाटो त्यागेर ऋणपत्र जारी गर्ने तयारीमा पुगेका हुन् । २८ वटा वाणिज्य बैंकले ऋणपत्र जारी गर्दा बजारमा भएको धेरैजसो रकम ऋणपत्र खरिदमा जाने र शेयर बजार ओरालो लाग्ने अनुमान गरिएको छ । बैंकहरुले ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि शेयर बजार ओरालो लाग्न पुगेको छ ।
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले मौद्रिक नीतिमा चुक्ता पुँजीको २५ प्रतिशत ऋण पत्र ल्याउने नीति ल्याएपछि शेयरमा लगानीकर्तामा त्रास छाएको छ । त्यस्तो ऋणपत्र ल्याउँदा लगानी त्यस्तै बढी गर्ने र दोस्रो बजारमा शेयर किनबेच नहुने डरले शेयर बजार ओरालो लाग्न पुगेको छ । मौद्रिक नीतिपछि खुलेको शेयर बजार करिब १५ अंकले घट्न पुग्यो ।
प्रतिक्रिया दिनुहोस