
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
यो आईपीओ खरिदका लागि छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात यो पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस