aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतकै सबैभन्दा ठूलो बैंक घोटलामा अनुसन्धान शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
भारतकै सबैभन्दा ठूलो बैंक घोटलामा अनुसन्धान शुरु

एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बिहीबार एबीजी शिपयार्ड लिमिटेडका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक (सीएमडी) ऋषि कमलेश अग्रवाललाई २२,८४२ करोड रुपैयाँको बैंक ठगी प्रकरणमा सोधपुछ गरेको छ । भारतकै सबैभन्दा ठूलो बैंक ऋण ठगी प्रकरणमा अनुसन्धान एजेन्सीले एफआइआर दर्ता गरेको केही दिनपछि यो कारबाही भएको हो ।

सीबीआईले ऋषि कमलेश अग्रवाल र अन्य विरुद्ध २८ बैंकको कन्सोर्टियमबाट २२,८४२ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो । तत्कालीन कार्यकारी निर्देशक सन्थानम मुथास्वामी, निर्देशक अश्विनी कुमार, सुशील कुमार अग्रवाल र रवि विमल नेभेटिया र अर्को कम्पनी एबीजी इन्टरनेशनल प्रालिसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध पनि मुद्दा दर्ता गरिएको थियो । 

बुधबार, प्रवर्तन निर्देशनालय (ईडी) ले एबीजी शिपयार्ड, यसका पूर्व प्रवर्द्धकहरू र अन्य विरुद्ध मनी लान्ड्रिंगको आपराधिक मुद्दा दर्ता ग¥यो । यसअघि, फेब्रुअरी १२–१३ मा, सीबीआईले सूरत, भरुच, मुम्बई र पुणेमा निर्देशकहरूको कार्यालय र घरहरूमा छापा मारेको थियो, जहाँ महत्वपूर्ण कागजातहरू बरामद गरिएको थियो ।

२०१२ र २०१७ बीचको छ वर्षमा, गुजरातमा आधारित जहाज–निर्माण फर्म एबीजी शिपयार्ड्सले २८ बैंकहरूसँग ठगी गरेको थियो । एसबीआईले अर्न्स्ट एन्ड यंगको सहयोगमा २०१९ मा फोरेन्सिक अडिट गरेको थियो । लेखापरीक्षणले २०१२ अप्रिलदेखि जुलाई २०१७ सम्मको पाँच वर्षको अवधिमा ठगी भएको पाइयो । यद्यपि, सीबीआईमा पहिलो उजुरी नोभेम्बर २०१७ मा गरिएको थियो ।

एबीजीएसएलले अब बैंकहरूलाई २२,८४२ करोड रुपैयाँ तिर्न बाँकी छ । आइसीआइसीआई बैंक ७,०८९ करोड,एसबीआइ २,९२६ करोड, आइडीबीआइ बैंक  ३,७३९ करोड, बैंक अफ बडोदा  १,६१४ करोड, पञ्जाब नेशनल बैंक १,२४४ करोड, एक्जिम बैंक १,३२७ करोड, इन्डियन ओभरसीज बैंकले १,२४४ करोड र बैंक अफ इन्डिया  ७१९ करोड यसबाहेक अन्य बैंकको पनि बक्यौता रहेको छ । एसबीआईको लेखापरीक्षण प्रतिवेदनले फण्ड डाइभर्सनबाट ठगी भएको खुलासा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस