
काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको तयारी भएको हो । फागुन चारगतेदेखि आठ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ ।
अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद मागभएको हो । यो तथ्याङ्क भने अन्तिम बाँडफाँटमा फरक पर्ने जानकारी विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशतअर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिएको छ ।
यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । बिहीवार सार्वजनिक निष्कासनमार्फत बिक्री भएको शेयर बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ ७९ हजार ४५० जना आवेदकले मात्र १० कित्ताका दरले पाउनेछन् ।
यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू.२६ करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रू. २६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ४३ छ ।
दोस्रो बजारमा बास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारको मूल्य निर्धारण हुने भएकाले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १६७ दशमलव ४३ देखि अधिकतम रू. ५०२ दशमलव २९ सम्मको मूल्यरेञ्ज पाउनेछ ।
प्रतिक्रिया दिनुहोस