
काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गोलाप्रथाको माध्यमबाट ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । यीमध्य ५ हजार ८५९ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य २५ लाख ७९ हजार ४०२ जना आवेदकहरुलाई बँडफाँट कार्यक्रममा सहभागी गराईएको थियो ।
बिहीवार कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशतअर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिसकेको छ ।
यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू.२६ करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रू. २६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ४३ छ । दोस्रो बजारमा बास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारको मूल्य निर्धारण हुने भएकाले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १६७ दशमलव ४३ देखि अधिकतम रू. ५०२ दशमलव २९ सम्मको मूल्यरेञ्ज पाउनेछ ।
प्रतिक्रिया दिनुहोस