काठमाडौं । चालू आवको पुससम्म तीन वटा स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ पुससम्ममा धादिङको रुवी भ्याल्ली, जाजरकोटको जुनिचाँदे र बझाङको साइपाल गाउँपालिकामा अझै बैंकका शाखा विस्तार हुन सकेका छैनन् ।
सरकारले आव २०७४/७५ को बजेटमा नै ७५३ ओटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने लक्ष्य राखेको थियो । तर, उक्त आवको अन्त्यसम्म ६३१ स्थानीय तहमा मात्र बैंक शाखा पुुगेका थिए । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा खोल्ने वाध्यकारी नीति बनाएपछि बैंकहरुले सम्भवत आफ्नो भागमा परेका स्थानीय तहमा शाखा विस्तार गरिसकेका छन् । यी तीन स्थानीय तहमा पनि चाँडै नै शाखा विस्तार हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
रुबी भ्याल्ली गाउँपालिकामा बैंक अफ काठमाण्डूको भागमा परेको छ । त्यसैगरी जुनिचाँदे गाउँपालिकामा कृषि विकास बैंक र साइपाल गाउँपालिकामा एभरेष्ट बैंकलाई शाखा विस्तार गर्न भनिएको छ । यी तीनओटा स्थानीय तहमा मानिसको बसोबार कम हुने र अदालतमा मुद्धा परेका कारण शाखा विस्तारमा ढिलाइ भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
शर्माका अनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिकामा मुद्धा परेको छ भने अन्य दुई स्थानीय तह भने अत्यान्तै विकट रहेका छन् । यी दुई स्थानीय तहमा मानिसको बसोबास कम रहेकाले पनि बैंक शाखा खोल्न समस्या परेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस