aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘बैंकहरुमा तरलता अभाव भए पनि हामीलाई असर पर्दैन’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • आइतबार, २२ फागुन २०७८
‘बैंकहरुमा तरलता अभाव भए पनि हामीलाई असर पर्दैन’

काठमाडौं । १८ वर्ष अघि राष्ट्रिय सहकारी बैंकको स्थापना भयो । जसको उद्देश्य सहकारीहरुलाई आवश्यक गरेको बेला ऋण दिने सदस्य बनाउने र आर्थिक कारोबार गर्ने हो । यस सहकारी बैंकले अन्य सहकारीहरुको स्तरोन्नती र विकासका लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

सहकारी भनेको सानो समूहमा स्थानीय क्षेत्रमा नै पैसा उठाएर खोल्ने संस्था हो । अहिले यसको क्षेत्रमा पनि विस्तार भएसँगै देशव्यापी रुपमा आर्थिक कारोबार गर्ने सहकारी स्थापना भएका छन् । साना सहकारीहरुलाई पैसाको आवश्यक परेका बेला वाणिज्य बैंक, विकास बैंकहरुले सहयोग नगर्ने हुँदा ऐनमा उल्लेख भएअनुसार राष्ट्रिय सहकारी बैकको स्थापना भएको राष्ट्रिय सहकारी बैकका अध्यक्ष के।बी उप्रेती बताउँछन् ।

उनी भन्छन्, ‘सहकारीका लागि पनि एउटा सहकारी बैंक हुनेछ भनेर ऐनमा पनि लेखिएका कारण पनि यो सहकारी बैंकको स्थापना भएको हो । यसको उद्देश्य अन्य सहकारीहरुलाई आवश्यक सहयोग गरी स्तरोन्न गर्नु नै हो ।

‘उनीहरुले सहकारी बैंकको शेयर लिएर यसको सदस्य बन्ने गर्छन् । उनीहरु कै पुँजीले यो बैंक चलेको छ । सरकारले पनि यस बैंकलाई एक करोड रुपैयाँ सहयोग गरेको छ’, उनले भने । उनका अनुसार राष्ट्रिय सहकारी बैकमा हालसम्म १४ हजार ४७२ सदस्यहरु रहेका छन् ।

देशभरि सञ्चाल नभएका सहकारीहरुमा आर्थिक कारोबारको लेखा राख्न समस्या भएको गुनासो आएपछि त्यसलाई सहज गर्न तालिम दिएको समेत उनले सुनाए । ‘आर्थिक कारोबार गर्न थालेसँगै लेखा राख्न पनि समस्या भयो सदस्य वृद्धि गर्न पनि तालिमको आवश्यकता भयो भन्ने गुनासो आउन थाल्यो’, उनले भने, ‘हामीले उनीहरुलाई तालिम पनि दिने काम गर्यौ । विदेश भ्रमण गराएर पनि देखार्यौ । जसले गर्दा ती सहकारीको पनि विकास हुँदै गयो ।’

यसका साथै सहकारीको माग अनुसार स्तरीकरणका कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएको उनले सुनाए । उनले भने, ‘हामीले सहकारीको माग अनुसार स्तरीकरणका विभिन्न कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएका छौ । जसबाट उनीहरुले आफ्नो कमीकमजोरी र उन्नतीको बारेमा पनि थाहा पाउन सक्नेछन् ।’

उनका अनुसार ए ग्रेड आउने सहकारीहरुको संख्या बढ्दै गयो । तर तीभन्दा सी ग्रेड आउनेहरुले पनि आफ्नो कमीकमजोरी सुधार गर्न माग गरे । उनीहरुलाई आवश्यकता अनुसार तालिम दिएर स्तरउन्नति गराएका छौं । यसका साथै उनीहरुको ब्यालेन्स सिट, दिनदिनकै क्रियाकलाप हेर्नका लागि अर्को केयर कार्यक्रम पनि ल्यायौ । यसका साथै स्मार्ट कार्यक्रम पनि सञ्चालन गरेर स्तरीकरण गरिएको उनको भनाइ छ ।

आर्थिक कारोबारमा सहयोग गर्न स्थापना भएको यो बैंकले अन्य कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएर सहकारीको विकास र स्तरउन्नती गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘यो सहकारी बैंकले अन्य सहकारीहरुलाई आर्थिक कारोबारमा मात्र सहयोग गरेको छैन । ती सहकारीको स्तरोन्नतीका लागि अन्य कार्यक्रमहरु पनि ल्याएको छ । सहकारीलाई अत्यावश्यक परेका बेला सहयोग गर्नका लागि छुट्टै फण्ड पनि राखेको छ ।’

बजारमा देखिएको तरलता अभावको समस्या सहकारी बैंकमा पनि सामान्य रुपमा देखिएको उनले जानकारी दिए । उनले भने, ‘बैंकहरुमा तरलता अभाव भयो भने हामीलाई त्यति धेरै असर त पर्दैन । तर कर्जा विस्तारमा भने केही समस्या पर्छ । अहिले हामीले निक्षेप राखेकाहरुलाई जुनसुकै बेला निकालेर लैजान सक्ने व्यवस्था मिलाएका छौं । नयाँ ऋणीहरुलाई कर्जा विस्तार भने आवश्यकताका आधारमा मात्र गरेका छौं ।’

सहकारी क्षेत्रमा राष्ट्रिय सहकारी बैंक अन्तराष्ट्रिय संलग्नता पनि रहेको छ । सहकारीको सेवा डिजिटलाइजेशनको विस्तारमा लागि परेका छौ । अहिले परिक्षणको क्रममा छ । परिक्षण सकिएपछि सुरुवात गछौ’, उनले भने । उनका अनुसार हाल यस सहकारी बैंकको शेयरपुँजी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । भने देशभर राष्ट्रिय सहकारी बैंकका ६८ वटा शाखा रहेका छन् ।

राष्ट्रिय सहकारी बैंकको सम्पत्ती कति ? 
राष्ट्रिय सहकारी बैंकको तथ्याङक अनुसार गत असार मसान्तसम्म बैंकको सम्पत्ती ७१ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमा नगद मौज्दात एक अर्ब ८ करोड ४८ लाख रहेको छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ३३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा सहकारी बैंकको मौज्दात ३३ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ रहेको छ । सो अवधिमा सहकारी बैंकले सहकारी संस्थाहरुलाई ३५ अर्ब २४ करोड ३८ लाख रुपैयाँ कर्जा तथा सापटी दिएको तथ्याङकमा उल्लेख छ ।

त्यसैगरी, यस अवधिमा राष्ट्रिय सहकारी बैंकले सुरक्षण पत्रमा एक लाख १५ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको चालु आर्थिक वर्षको कर सम्पत्ती २५ करोड ६१ लाख रुपैयाँ, सम्पत्तीमा लगानी ११ करोड २३ लाख रुपैयाँ, सम्पत्ती तथा उपकरण ४६ करोड ४७ लाख रुपैयाँ, ख्याति तथा अर्मुत सम्पत्ती एघार लाख ९३ हजार रुपैयाँ र अन्य सम्पत्ती ४९ करोढ ४३ लाख रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस