काठमाडौं । पछिल्लो समय बैंकहरूले जारी गरेको क्यूआर कोडमार्फत भुक्तानी गर्ने बढेका छन् । पछिल्लो सात महिनाको तथ्यांक हेर्दा वालेटबाट भन्दा अधिकांशले क्यूआर कोड प्रयोग गर्न थालेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार माघमा क्यूआर कोडमार्फत ६ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भएको छ । गत साउनमा भने क्यूआर कोडमार्फत ५ अर्ब ६ करोड रुपैयाँ मात्र भुक्तानी भएको थियो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय मोबाइल वालेटबाट गरिने भुक्तानी घट्दै गएको छ । मोबाइल वालेटमाभन्दा क्यूआर कोडमार्फत सहज रूपमा भुक्तानी हुने भएकाले क्यूआर कोड प्रयोग गर्ने बढेको बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ७ महिनाको तथ्यांक हेर्दा साउनयता क्यूआर कोडमार्फत भुक्तानी हुने रकम लगातार बढ्दै गएको छ । तर, कात्तिकमा भने क्युआर कोडमार्फत भुक्तानी हुने रकममा कमी आएको थियो । कात्तिकमा क्युआर कोडमार्फत ५ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको थियो ।
राष्ट्र बैंकले क्यूआर कोड र मोबाइल बैंकिङमर्फत प्रतिदिन २ लाख रुपैयाँ भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख रुपैयाँ भुक्तानी गर्न सकिन्छ । त्यसैगरी बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा प्रतिकारोबार ५० हजारसम्म भुक्तानी गर्ने व्यवस्था रहेको छ । यस्तो कारोबार गर्दा प्रतिदिन १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ मात्र भुक्तानी गर्न सकिने व्यवस्था छ ।
त्यस्तै, पछिल्लो माघको तथ्यांक हेर्दा मोबाइल वालेटबाट १४ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी भएको छ । तर, पुसमा मोबाइल वालेट प्रयोग गरेर १६ अर्ब २८ करोड रुपैयाँ भुक्तानी भएको थियो । साउनयता मोबाइल वालेटबाट रकम भुक्तानी कम हुँदै आएको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकले वालेटबाट अर्काे वालेटमा प्रतिकारोबार २५ हजार र दिनमा १ लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था गरेको छ । एक महिनामा भने यस्ता वालेटमार्फत आलेटमा हुने कारोबारमा ५ लाख रुपैयाँ मात्र रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस