aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकहरूमा निक्षेप बढ्यो, कर्जा प्रवाह भने २ अर्बले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
बैंकहरूमा निक्षेप बढ्यो, कर्जा प्रवाह भने २ अर्बले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते सोमबार एक दिनमा ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदै गएपछि कर्जा प्रवाह घटाएर निक्षेप संकलनमा बैंकहरू केन्द्रित भएको देखिन्छ । फागुनमा निक्षेपको ब्याजदर बढाएर निक्षेपकर्ता आकर्षित गर्न खोजे पनि वित्तीय संस्थाहरूको यो जुक्ति काम लागेन । निक्षेपको ब्याजदर बढाउँदा पनि निक्षेप संकलनले गति नलिएपछि चैतमा निक्षेपको ब्याजदर नबढाउँने पक्षमा बैंक तथा वित्तीय संस्थाहरू सहमति भएका थिए । फागुनमा ब्याजदर बढाएपनि निक्षेप संकलन बढ्न नसकेपछि तरलता अभावको समस्या उस्तै र¥यो । त्यस्तै कर्जा र निक्षेपबीचको अनुपात (सीडी रेसियो) मा पनि खासै सुधार आएन । 

राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्न बैंकहरूलाई मौद्रिक नीतिमार्फत निर्देशन दिएको छ । तर, अहिलेसम्म पनि बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ४७ प्रतिशत रहेको छ । आइतबार सीडी रेसियो ९० दशमलव ५६ प्रतिशत रहेको थियो । आइतबारको तुलनामा सोमबार सीडी रेसियोमा केही सुधार त देखिएको छ । तर, यो सन्तोषजन भने हैन् । 

सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ४९ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने यस्ता संस्थाबाट ४६ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ । संकलित निक्षेपमध्ये वाणिज्य बैंकहरूबाट ४३ खर्ब ३३ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यसैगरी उक्त दिनसम्म वाणिज्य बैंकहरूबाट ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । प्रवाह भएको कर्जामध्ये बाँकी ५ खर्ब २८ अर्ब रुपैयाँ कर्जा अन्य बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको छ । 
 

प्रतिक्रिया दिनुहोस