
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा उल्लेखित शेयर भने वितरण हुन नसकेकाले लिलामीमा आउने भएको हो ।
कम्पनीले पुस ११ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुका लागि २ बराबर १ को अनुपातमा रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई चैत १६ गते कम्पनीले १७ लाख ८९ हजार २३९ कित्ता शेयर बाँडफाँट गरेको हो ।
आफ्नो हकभन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन दिई बाँडफाँटमा नपरेको रकम चैत २० गतेदेखि आवेदन फारममा उल्लेखित बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले चुक्तापूँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद समेत वितरण भएपश्चात् कम्पनीको चुक्तापूँजी ८१ करोड ८९ लाख ११ हजार ५०० रुपैयाँ पुग्नेछ । कम्पनीले साउन १५ गते उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो ।
यस अघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी ८० करोड रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी बृद्धि गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस