aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकहरुले विद्युतीय गाडीमा लगानी घटाएका छैनन्ः उपाध्यक्ष केसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ चैत्र २०७८
बैंकहरुले विद्युतीय गाडीमा लगानी घटाएका छैनन्ः उपाध्यक्ष केसी

काठमाडौं । बैंक वित्तीय संस्थाहरुमा तरलताको अभाव भएपनि विद्युतीय गाडीहरुको लगानी भने नघटाएको बैंकरहरु बताउँछन् । बैंकर एशोसिएशनका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले तरलता अभावमा पनि बैंकहरुले इलेक्ट्रिक गाडीमा लगानी नघटाएको बताए । 

स्वतन्त्र उर्जा उत्पादक संघले आयोजना गरेको कार्यक्रमलाई संम्बोधन गर्दै केसीले भने, ‘हाइड्रोमा एउटै बैंकको दुई अर्ब भन्दा बढी लगानी रहेको छ । तरलता अभावमा पनि बैंकहरुले इलेक्ट्रिक गाडीमा लगानी घटाएका छैनन् । बैंकहरुले गरेको लगानीमध्ये १६ प्रतिशत लगानी हाइड्रोको क्षेत्रमा रहेको छ । बैंकले ४५ वटा भन्दा बढी हाइड्रोका परियोजनाहरुमा लगानी गरेको छ । ’

त्यस्तै, कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद आचार्यले आफ्नो उत्पादनलाई अधिकतम खपत गरी राष्ट्रिय विकासमा सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले भने, ‘पुराना गाडीहरुलाई इलेक्ट्रिक गाडीमा परिवर्तन गर्न चाहने व्यवसायीहरुलाई सरकारले सहुलियत दिने भएको छ । आफ्नो उत्पादनलाई अधिकतम खपत गरी राष्ट्रिय विकासमा सहयोग गरौ ।’

स्वतन्त्र उर्जा उत्पादक संघले चैत्र १९ गतेदेखि २१ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२२ को तयारी गरिरहेको छ । संघले यसअघि चैत्र १८ गतेदेखि २० गतेसम्म एक्स्पो सन्चालन हुने घोषणा गरेका थियो । चैत्रको १८ गते घोडेजात्रा परेको र कार्यक्रमस्थल भृकुटीमण्डप वरपर सुरक्षा निकायले यातायातका साधन प्रवेशमा नियन्त्रण तथा व्यस्थापन गर्ने देखिएकाले पहिले निर्धारित समय तालिका परिवर्तन गरी एक दिनपछि चैत्रको १९ गते गर्ने भएको छ । 

संघले यसअघि हिमालयन हाइड्रो एक्स्पोको दुई संस्करण सफलताका साथ सम्पन्न गरिसकेको छ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको संघले जनााएको छ । इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको यस एक्स्पोको समुद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्नेछिन् । 

हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा विच प्रतिस्पर्धा समेत गराइने छ । त्यस्तै हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ ड्रोन भिडियोे मेकिङ कम्पिटिशन समेत आयोजना गरिने संघले जनाएको छ । 

एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुयाउने विश्वास गरिएको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अवलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो वितरण गरिनेछ ।  
 

प्रतिक्रिया दिनुहोस