
काठमाडौँ । समृद्ध नेपाल सरकारी संस्था कब्जा गर्न किर्ते सदस्य बनाई साधारणसभा सम्पन्न गरिएको छ । उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी र कार्यकारी प्रमुख, अधिकृत, ब्यबस्थापक लगायतका बिरुद्ध सहकारी बिभागमा मुद्दा दर्तामाथि छानविन भइरहेको बेला यही चैत्र १५ गते अवैध रुपमा विशेष साधारण सभा गरिएको छ ।
विभागका एक कर्मचारीका अनुसार विशेष साधारणसभा रोक्न निर्देशन दिँदा पनि संचालक समितिले मानेन् । आफू अनुकुल निर्णय गर्न संचालक समितिले सेवा केन्द्रका सिमित कर्मचारीको उपस्थितिमा विशेष साधारण सभा गरेको गरेको छ । एक शेयर सदस्यका अनुसरा उक्त साधारण सभामा एक जना पनि शेयर सदस्य उपस्थित रहेको थिएन् ।
सेवा केन्द्रका एक कर्मचारीका अनुसार संचालक समितिले तलबाट किर्तेगरी ५१ प्रतिशत उपस्थिति देखाई माइन्यूट बनाउन दवाव दिएको थियो । सेवा केन्द्रका कर्मचारीले विरोध जनाउँदा समेत संचालक समितिले दवाव दिएर किर्ते माइन्यूट तयार गर्न लगाएको एक कर्मचारीले जानकारी दिए । एक सेवा केन्द्रका सधारणसभामा उपस्थिति देखाईएका सबै शेयर सदस्यको हस्ताक्षर किर्ते गरिएको एक सेवा केन्द्रका कर्मचारीले जानकारी दिए ।
यसअघि सहकारी संस्थाका कार्यकारी प्रमुख टेकबहादुर शाही, सचिव प्रकाश आचार्य, सहसचिव सुदिप पौडेल र कोषाध्यक्ष बन्दना तिवारी नेपालबिरुद्ध केही शेयर सदस्यहरुले सहकारी विभागमा उजुरी दर्ता गरेका थिए । उजुरीमा कार्यकारी प्रमुख शाहीसहित पदाधिकारीहरुले सहकारी ऐन नियम तथा संस्थाको विनियमावाली तथा संस्थाको आर्थिक प्रसाशनिक नीति बिपरित काम कारबाही गरेको र अन्य सहकारी संस्थाको सञ्चालक तथा जिम्मेवारीमा रही सेवा सुबिधा लिइरहेको अबस्थामै पनि समृद्ध नेपाल सहकारी संस्थामा समेत सञ्चालक समिति र कार्यकारी पदमा रहेको पाइएकोले छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको थियो ।
यस्तै उनीहरुले सेयर सदस्यहरुलाई चेकबुक, पासबुक, सेयर प्रमाणपत्र समेत नदिएको र पटक–पटक माग गर्दा समेत अटेर गरेको र सहकारीको साधारणसभामा छलकपटकपूर्ण तरिकाले किर्ते लेखा परिक्षण प्रतिबेदन पारित गराएको आरोप लगाइएको छ । प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिमा बसेका व्यक्तिहरुले सहकारीको रकम व्यक्तिगत हिसाबले हिनामिना गरी सहकारीलाई घाटामा देखाएको, सहकारीका सदस्यहरुको सेयर तथा बचत समयमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरि ढिला दाखिला गरेको उजुरीमा उल्लेख छ ।
सहकारीको माइन्युट, योजना र नीति तथा सिद्धान्त बिपरित अनावश्यक र अनाधिकृतरुमा भौतिक संरचना निर्माण गरेको र विभागको अनुमति बिना सहकारीको नाममा सेवा केन्द्र तथा कार्यालय खडा गरी काम संचालन गरेको समेत उल्लेख गरिएको छ ।
सहकारीका शेयर सदस्यहरुले आफ्नो रकम फिर्ता माग्दा एक बर्षसम्म पनि रकम फिर्ता नगरी मानसिक तनाब दिइएको समेत आरोप लगाइएको छ । सहकारीको गत साउन ३२ गते सम्पन्न साधारणसभाले प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिले संचालन गर्ने गरी बैंक खाता खोल्ने निर्णय गरेकोमा हालसम्म पनि समृद्ध नेपाल कृषि सहकारी संस्थाका नाममा कुनै पनि बैंकमा खाता नखोलेको र बैंकिङ्ग प्रणालीभन्दा बाहिर व्यक्तिगत, मनमर्जी हिसाबले आर्थिक कारोबार गरेको उजुरीकर्ता शेयर सदस्यको दाबी छ ।
दुईभन्दा बढी सहकारीको जिम्मेवारी
सहकारीका प्रमख कार्यकारी अधिकृत शाही समृद्ध नेपाल बाहेक दिगो बिकास कृषि सहकारी संस्था लिमिटेड चितवनको सञ्चालक, अध्यक्ष, प्रयत्न बहुमुखी सहकारी संस्था लिमिटेड कोहलपुर बाँकेको सञ्चालक, अध्यक्ष र दियालो बहूउद्देश्यीय सहकारी संस्था जुम्लाको सञ्चालक, अध्यक्ष समेत रहेका छन् ।
यस्तै, सचिव प्रकाश आचार्य प्रयत्न बहूउद्श्यीय सहकारी संस्था कोहलपुरको सञ्चालक समिति सदस्य रहेको, यस्तै सहसचिव पौडेल दिगो बिकास कृषि सहकारी संस्था चितवनको सञ्चालक र कोषाध्यक्ष रहेको, कोषाध्यक्ष बन्दना दिगो बिकास कृषि सहकारी संस्था चितवनको ब्यबस्थापक कर्मचारी रहेको विभागमा दिएको उजुरीमा उल्लेख छ ।
एकभन्दा बढी सहकारीको जिम्मेवारी लिन नपाउने सहकारी ऐनमा उल्लेख भएपनि समृद्ध नेपाल सहकारीमा ऐनको धज्जी उडाउँदै दोहोरो, तेहोरोसम्मको जिम्मेवारीमा रहेका व्यक्तिहरु यस सहकारीको संचालक वा कार्यकारी जिम्मेवारीमा रहेका छन् । ऐन विरोध कार्य भएको बताउँदै विभागमा दिएको उजुरीमा कारवाहीको माग गरिएको छ ।
विभागमा मुदा दर्ता गर्ने शेयर सदस्यहरुले समृद्ध नेपाल कृषि सहकारी संस्थामा हालका सञ्चालक समितिका कार्यकारी अधिकृत र पदाधिकारीहरुले यस सहकारीको देशभर कार्यक्षेत्र रहेकोले आफ्ना सहकारी संस्थासँग गाभ्ने नियतका साथ किर्ते काम भइरहेको एक शेयर सदस्यले बताए ।
अध्यक्षको नाटकीय राजिनामा
माओवादी कार्यकर्ता दलबहादुर बिसीले फागुन ९ गते अध्यक्षबाट एकाएक राजिनामा दिए । बिसीले शेयर सदस्यको रकम हिनामिना गरेको भन्दै छानविन समितिले प्रतिवेदन बुझाउँदा समेत अध्यक्ष पद नछोडेका बिसीले मोटो रकम लिएर अध्यक्ष पद छोडेको एक शेयर सदस्यले दाबी छ । “छानविन समितिले अध्यक्ष अनियमिततामा दोषी ठहर गर्दै नैतिक हिसाबले जिम्मेवारीमा रहन नमिल्ने निष्कर्ष निकाल्दा समेत राजिनामा नदिएका बिसीले सहकारी कब्जा गर्न लागेको समूहसँगको मितेमत्तोमा रातारात राजिनामा दिए” एक शेयर सदस्यले भने ।
अध्यक्षबाट बिसीले राजिनामा दिएपछि अवैध रुपमा सम्पन्न विशेष साधारणसभाले कष्ठमाण्ड डेभलपमेन्ट बैंकको संचालक समेत रहेका टेकराज प्रसाईलाई अध्यक्ष चयन गरेको छ । उनलाई अध्यक्ष चयन गरेको कुरा संचालक समितिले गोप्य राखेको छ । उनी नेकपा एमाले निकट युवा संघ नेपालका कर्णाली प्रदेशका सहइन्चार्ज समेत हुन् । एक शेयर सदस्यका अनुसार कार्यकारी अधिकृत शाहीकै योजनामा प्रसाईलाई अध्यक्ष बनाइएको एक शेयर सदस्यले दाबी गरे । शाहीले यस सहकारीका पुराना शेयर सदस्यलाई हटाएर वा अल्पमतमा पारेर आफू संचालक, अध्यक्ष भएको सहकारीसँग मर्जर गरेर समृद्ध नेपा सहकारीको अस्तित्व समाप्त पार्ने योजना बनाएको एक कर्मचारीले बताए । उनी संचालक, अध्यक्ष रहेका सबै सहकारीका कार्यक्षेत्र समिति रहेकाले यस सहकारीलाई कब्जा गर्न खोजेको शेयर सदस्यको आरोप छ ।
शेयर सदस्यको रकम व्यक्तिगत खातामा
यसअघिका अध्यक्ष दलबहादुर बिसी, कार्यकारी अधिकृत टेकबहादुर शाही र सचिव प्रकाश शाहीले शेयर सदस्यबाट उठेको ६८ लाख ४० हजार रकम सहकारीको खातामा जम्मा नगरी व्यक्तिगत रुपमा प्रयोग गरेका छन् ।
पूर्व अध्यक्ष बिसीको खातामा १८ लाख ४०, कार्यकारी अधिकृत शाही ४० लाख र सचिव शाही २० लाख जम्मा गरी व्यक्तिगत रुपमा प्रयोग गरेका छन् । दर्तामा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको सहकारीको अनुमति नदिई काठमाडौंको कोटेश्वरमा कार्यालय संचालन भइरहेको छ ।
सेवा केन्द्र संरचना निर्माणमा मिलेमत्तो
यस सहकारीमा पाइला पाइलामा बदमासी भइरहेको छ । सहकारीका १८ मध्ये १४ सेवा केन्द्रका संरचना निर्माणमा पनि बदमासी भएको एक संचालक समिति सदस्यले बताए । करिब पाँच करोडभन्दा बढीको ठेक्का मिलेमत्तोमा संचालक समिति सदस्य बिमला दर्लाकोटीका पति मनोज बस्नेतलाई दिएर संस्थालाई नोक्सान पुर्याउने काम भएको छ । कमसल काम गरेको गुनासो हुँदाहुँदै पनि बस्नेतलाई भुक्तानी दिइएको छ ।
अवैध रुपमा २०७७ पुस २३ गते एकै दिन १८ वटा सेवा केन्द्रको अनुमति दिइएको थियो ।
बैंकमार्फत कारोबार नभएको
चालु आर्थिक बर्षमा सहकारीको खाताबाट आर्थिक कारोबार गरिएको छैन । शेयर सदस्यहरुको रकम संचालक समितिका सदस्यहरुको खाताबाट कारोबार गर्ने गरिएको एक कर्मचारीले बताए । शेयर सदस्यहरुबाट उठेको ७० लाख संचालक समितिका सदस्यको नाममा भउचर देखिन्छ । तर, उक्त रकम कहाँ गयो भन्ने कुनै पनि रेकर्ड राखिएको छैन । १ करोड ५० लाख कुल पुँजी भएको सहकारीको पुस २० गतेको व्यालेन्स सिटमा सेवा केन्द्रमार्फत ७ करोड खर्च भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस