aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

तरलता अभाव चरम उत्कर्षमा, एकै दिन १४ अर्बले घट्यो निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
तरलता अभाव चरम उत्कर्षमा, एकै दिन १४ अर्बले घट्यो निक्षेप

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव झन झन खड्किदै गएको छ । पैसाको माग अत्यधिक हुने तर माग अनुसार प्रणालीमा पैसा नथपिँदा तरलता अभाव चरम उत्कर्षमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चैत २० गते आइतबार निक्षेप संकरले १४ अर्ब रुपैयाँ घटेको छ । उक्त दिन वाणिज्य बैंकहरुमा मात्र १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । उक्त दिन कर्जा प्रवाह पनि घटेको छ । बैंकमा तरलता अभावको समस्या खड्किएसँगै अहिले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । 

उक्त अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह पनि घटेको छ । यो दिन २ अर्ब रुपैयाँ यी वित्तीय संस्थाबाट कर्जा प्रवाह घटेको हो । 

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि चरम तरलता अभाव भएको जानकार बताउँछन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत २१ गतेसम्म पुँजीगत खर्च २५ दशमलव १२ प्रतिशत भएको छ । चालू आवमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको भएपनि करिब ९ महिनामा ९४ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । 

तर, केही दिनयता भने पूँजीगत खर्चले गति लिन थालेको छ । अहिले सरकारले दैनिक खर्च बढाएर १ अर्बको हाराहारीमा पु¥याएको छ । सरकारको खर्चभन्दा बढी अहिले बजारमा पैसाको माग भएकाले पनि सरकारी यो खर्च बढेर कुनै असन नपरेको देखिएको हो । 

अहिले उत्पन्न समस्य समाधान गर्न हरेक दिन जसो बैंकहरुले स्थायी तरलता सुबिधा प्रयोग गर्दै आएका छन् । गत साउन १३ गतेदेखि उक्त सुबिधा प्रयोग गर्न थालेका बैंकले अहिलेसम्म १८० पटक उक्त सुबिधामार्फत ५३ खर्ब रुपैयाँ चलाइसकेका छन् । ओभर नाइट रिपोको सुबिधामार्फत पनि बैंकहरुले अहिलेसम्म १ खर्ब ३६ अर्ब चलाइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस