
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद शेयर चैत २९ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर वैशाख ७ गतेसम्मका लागि लिलामीमा आउन लागेको हो ।
कुल कित्ता शेयरमध्य ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको रहेको छ भने ७३ हजार १०० कित्ता सर्वसाधारण तर्फको रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा यी शेयर लिलामीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । संस्थापक तर्फको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण तर्फबो शेयर खरीदका लागि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीले चुक्तापूँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर कम्पनीले विक्री गरेको हो । अवितरित हकप्रद समेत वितरण भएपश्चात् कम्पनीको चुक्तापूँजी ८१ करोड ८९ लाख ११ हजार ५०० रुपैयाँ पुग्नेछ । कम्पनीले साउन १५ गते उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो ।
यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८÷७९ भित्र चुक्तापूँजी ८० करोड रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी बृद्धि गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस