aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र बैंकले माग्यो क्रश होल्डिङको विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
राष्ट्र बैंकले माग्यो क्रश होल्डिङको विवरण

काठमाडौं । मर्जरका लागि बैंक तथा वित्तीय संस्थालाई नैतिक दबाब दिँंदै आएको नेपाल राष्ट्र बैंकले बाध्यात्मक (फोर्स) मर्जरका बारे गृहकार्य शुरू गरेको संकेत दिएको छ ।

क्रश होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लानका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट शून्य दशमलव १ प्रतिशत शेयर स्वामित्व भएकाको विवरण संकलनको गृहकार्यमा केन्द्रीय बैंक जुटेको हो ।

बिहीवार राजधानीमा आयोजित मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव विषयक कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले क्रश होल्डिङ भएका बैंकहरूको विवरण बुझाउन बैंकहरूलाई पत्र काटेको बताए ।

उनका अनुसार राष्ट्र बैंकले एक बैंकमा लगानी भएको व्यक्तिको अर्को बैंकमा कति लगानी छ भन्ने पत्ता लगाउन बिहीवार नै पत्राचार गरेको छ । 

यसैबारेमा जोड दिँदै डेपुटी गभर्नर सिवाकोटीले अब एकाघरका लगानीकर्ताको शेयर स्वामित्वको अंश हेरिने बताए । उनका अनुसार कसको कत्ति शेयर दोहोरिन्छ, त्यही क्रस होल्डिङका आधारमा बैंकलाई मर्जरमा जान दबाब दिइनेछ ।

‘सबै बैंक तथा वित्तीय संस्थाको क्रश होल्डिङको विवरणलाई तालिका बनाएर हेर्छौं । बैंकहरूको क्रश होल्डिङको अवस्था १, २ वा ३ प्रतिशत कतिमा राख्दा हुन्छ त्यही आधारमा निर्णय गर्छौं,’ उनले भने ।

सम्पूर्ण बैंकको यस्तो विवरण आएपछि एकाघरभित्र निश्चित परिमाणभन्दा बढीको क्रस होल्डिङ भएकाहरूलाई मर्जरमा जानैपर्ने निर्देशन दिनका लागि राष्ट्र बैंकले निर्देशिका बनाउने सिवाकोटीले बताए । 

यसअघि डेपुटी गभर्नर सिवाकोटीले आर्थिक अभियानसँगको कुराकानीमा नयाँ मौद्रिक नीतिले मर्जरका लागि दिएको सहुलियत उपयोग गर्दै बैंकहरू मर्जरमा लागेनन् भने बाध्यात्मक मर्जरमा लैजाने बताएका थिए ।

बिहीवार पनि उनले मर्जरलाई प्रोत्साहन दिँदा बैंकहरू स्वैच्छिक रूपमा जान अटेर गरे भने दबाब दिएर मर्जर गर्ने कुरा दोहो¥याए । सिवाकोटीले भने, ‘हामी मर्जरको नीतिबाट पछाडि हटेका छैनौं । भोलिका दिनमा फोर्स मर्जर हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस