aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २७८ दशमलव २० को आधारमा नेप्सेले बोनस पछिको मूल्य रू. १ हजार ७४ दशमलव १२ तोकेको हो । बुधवार कम्पनीको समायोजन मूल्यको आधारमा शेयर कारोबार खुला हुनेछ । मंगलवार कम्पनीको अन्तिम प्रतिकित्ता रू. ८ दशमलव ८ ले घटेको हो । 

कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरेको हो । बुक क्लोजको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन ।

यस वर्ष कम्पनीले बोनससँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा कुल २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ ।

 बोनसमा लाग्ने कर भने २०७७ साल असोज ५ गतेपछि शेयर खरिद गर्ने शेयरधनीहरुको लागि मात्र लागू हुनेछ । साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न गरी  नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ साल असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए । एकिकृत कारोबारपछि कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयरका लागि कर तिर्नुपर्नेछ ।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार कम्पनीको रू. ९४ लाख २७ हजार ८३२ बराबरको ७ हजार ३४२ कित्ता शेयर कारोबार भएको हो । यो दिन कम्पनीको पछिल्लो ४१ दिन यताकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो । यस अघि माघ २७ गते कम्पनीको रू. १ करोड ५ लाख १८ हजार बराबरको ७ हजार १४ कित्ता शेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस