aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेले ब्रोकरको काम गर्न इच्छुक बैंकका कम्पनीलाई १५ दिनभित्र आवेदन दिन समय ताेक्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
नेप्सेले ब्रोकरको काम गर्न इच्छुक बैंकका कम्पनीलाई  १५ दिनभित्र आवेदन दिन समय ताेक्याे

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको काम गर्न इच्छुक वाणिज्य बैंकका सहायक कम्पनीहरुसँग १५ दिनभित्र आवेदन दिन अाह्गवान गरेको छ । सूचना अनुसार इच्छुक कम्पनीले १५ दिनभित्र ५ हजार रुपैयाँ दस्तुरसहित निवेदन पेश गर्नुपर्ने जनाएकाे छ । नेप्सेले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमति पत्रका लागि सिफारिस कार्यविधि, २०७६’ बमोजिम निवेदन पेश गर्न भनेकाे छ ।

सेयर दलालको काम गर्ने वाणिज्य बैंकका सहायक कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यस्तै, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

राष्ट्र बैंकले १० वटा बैंकलाई ब्रोकरको काम गर्न अनुमति दिइसकेको छ । ब्रोकर सेवा उपलब्ध गराउन वाणिज्य बैंकहरु पनि इच्छुक देखिएका छन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १९ वटाले सहायक कम्पनी खोलेर सेयर ब्रोकर सेवा उपलब्ध गराउन अनुमति माग्दै राष्ट्र बैंकमा निवदेन दिएका छन् । 

यसैगरी आवेदन दिएका अन्य बैंकहरुका बारेमा पनि अध्ययन गर्ने कार्य भइरहेको केन्द्रीय बैंकले जानकारी गराएको छ । ब्रोकरको काम गर्न अनुमति पाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमान्डू, एनआइसी एसिया, कुमारी, सिद्धार्थ रहेका छन् । यसैगरी, ग्लोबल आइएमई, जनता, मेगा, सेन्चुरी र सानिमा बैंकले पनि राष्ट्र बैंकबाट अनुमति पाइसकेका छन् ।

राष्ट्र बैंकबाट अनुमति पाएका बैंकहरुले अब सहायक कम्पनी  खोल्नुपर्नेछ । त्यसपछि नेप्सेले आवश्यक अध्ययन गरी क्रमशः अनुमति दिंदै जानेछ । प्रक्रिया पूरा गरेर आएका बैंकहरुलाई केही समयपछि नै अनुमति दिने तयारी भइरहेको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस