aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

बैंकहरुलाई छाडा छोड्दा आर्थिक क्षेत्रमा समस्या आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
बैंकहरुलाई छाडा छोड्दा आर्थिक क्षेत्रमा समस्या आयो

अहिले अर्थतन्त्रमा संकट आउनुमा अत्याधिक मौद्रिकीकरण रहेको हो । हाम्रोमा अत्याधिक मौद्रिकीकरण भयो । यो हुनुहुन्थेन । निर्यात अत्याधिक बढेका बेलामा मौद्रिकीकरण हुनु ठिक हो । किनभने निर्यात बढ्दा डलर भित्रिन्छ । उक्त डलर राष्ट्र बैंकमा आएपछि नेपाली मुद्रा जारी हुन्छ । तर, आयात बढ्दा अत्याधिक मौद्रिकीकरण बढ्नु ठिक होइन ।  

अत्याधिक मौद्रिककरणले गर्दा नेपालीको क्रयशक्ति कृत्रिमरुपमा बढाईएको छ । यसो हुनुमा बैंक तथा वित्तीय संस्थाहरुले सस्तो दरमा कर्जा दिएर हो । अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला एकल ब्याजदरमा ऋण दिनु हुँदैन थियो । सस्तो ब्याजदरमा ऋण दिएर घर घडेरीमा लगानी गर्नेदेखि शेयर, महगा गाडी लगायत खरिद गर्न पाउनु पर्छ भन्ने मानसिकता बढाउने काम गरियो ।  

सरकारको वित्त स्थिति अहिलेसम्म ठिक छ । हाम्रो राजस्वले विदेशी ऋणको सावा र ब्याज तिर्न प्रशस्त पुग्छ । यसपटक नेपालले बुझाउनु पर्ने ऋणको सावा र ब्याज मोटामोटी ४५ अर्ब हो । हाम्रोमा एक हजार खर्बमाथि राजस्व छ । यसरी हेर्दा हामी विदेशी ऋणको भुक्तानी गर्न सक्षम रहेको देखिन्छ ।   

अहिले पर्यटन क्षेत्र पनि सामान्य सुधारको स्थितिमा छ । यस क्षेत्रको चहलपहल विस्तारै बढ्दै गएको छ । तर, पर्यटन क्षेत्रमा सुधार आउँदैमा नेपाली अर्थतन्त्रमा सुधार आउन सक्दैन । पर्यटन क्षेत्रबाट कूल ग्राहस्थ उत्पादनमा करिब ७ प्रतिशत मात्रै योगदान हरेको छ  । पर्यटन क्षेत्रमा चहलपहल बढ्दा नेपाली अर्थतन्त्रलाई केहि भरथेग भने गर्छ । तर, अर्थतन्त्र सुधार नै चाँही हुदैन ।  

नेपाल श्रीलंकाको बाटो लाग्यो भनेर बजारमा हल्ला चलाइदै छ । श्रींलकाको वैदेशीक ऋणको भार एकदमै बढी रहेको छ । उनीहरुले विदेशी मुद्रा नभई ऋण तिर्न सक्दैनन । त्यतिमात्र होइन उनीहरुको राजस्व संकलन पनि ज्यादै कमजोर रहेको छ । तर, हाम्रो नेपालको राजस्व संकलन बलियो छ । यसरी हेर्दा अहिलेसम्म हामी श्रीलंकाको बोटोमा छैनौं । तर, यहि गतिमा जाने हो भने श्रीलंका हुँदै भेनेजुयलासम्म पुग्न धेरै समय लाग्दैन ।      

आयात बढ्दा नेपालबाट विदेशी मुद्रा धेरै मात्रामा बाहिरियो । विदेशी मुद्रा बाहिरिदा नेपाली मुद्रा फर्केर राष्ट्र बैंकमा पुग्छ । आफूसंग भएको नेपाली मुद्रा राष्ट्र बैंकलाई दिएर त्यहाँबाट डलर किनेर बाहिर पठाउने हो । आयात गर्दा नेपाली मुद्रा पनि बजारमा सर्कुलेसन घट्नु पर्ने हो । तर, यहाँ उल्टो भयो । 

राष्ट्र बैंकले अत्याधिक मात्रामा बैंकहरुमा नगद पठायो । विदेशी मुद्राको सञ्चिती घट्यो, आयात बढ्यो । त्यसै अनुरुपमा नेपाली मुद्राको सर्कुलेसन पनि घट्नु पर्ने अवस्थामा उल्टै नेपाली मुद्राको सर्कुलेसन बढ्यो । यसो हुँदा मानिसहरुको हातमा सस्तो ब्याजदरमा कर्जा पुग्यो । उनीहरुको हात हातमा पैसा पुगेपछि क्रयशक्ति बढ्यो । उनीहरुलाई समान किन्न बजारमा गए । तर, नेपालमा आएका समानहरु त धेरैजसो विदेशबाट आयात गरिन्छ । यसो हुँदा आयात अत्याधिक बढ्यो ।    

विदेशी मुद्राको सञ्चिती घट्दा मुद्रा प्रदाय पनि स्वभाविकरुपमा घट्नु पर्ने ठाउँमा राष्ट्र बैंक उदार भएर मुद्रा प्रदाय बढाइदियो । दक्षिण एसियामा बंगलादेश, श्रीलंका, पाकिस्तान, भारतभन्दा बढी मुद्रा प्रदाय भएको मुलुक हाम्रो नेपाल हो । भारतकै कुरा गर्ने हो भने त्यहाँको कूल ग्राहस्थ उत्पादनको तुलनामा ८१ प्रतिशत मात्रै मनि सप्लाई हुन्छ । उनीहरुले एक वर्षको अवधिमा एक सयको वस्तु उत्पादन गरे भने त्यसका लागि उनीहरुको हातमा ८१ रुपैयाँ मात्रै उपलब्ध हुन्छ । तर, नेपालमा एक सयको उत्पादन हुँदा बजारमा १२० रुपैयाँसम्म मुद्रा उपलब्ध भइरहेको अवस्था छ ।    

अहिले विदेशी मुद्रा सञ्चितीको दर घटेको छ । नेपालमा यति तिव्रदरमा सञ्चिती किन घट्यो भन्ने चिन्ताको विषय बनेको छ । विदेशी मुद्रा सञ्चितिलाई करेक्सन गर्न सकिन्छ । यसका लागि बजारमा भएको नेपाली मुद्रा खिच्नु पर्यो । यसमा राष्ट्र बैंकले तरलता सुविधा अन्तर्गतको सहुलियत धितो कर्जा भकाभक बैंकहरुलाई बाडिरहेको छ । यसलाई कम गर्नु पर्छ । बैंकहरुको सिडी रेसियो बैंकहरुलाई ९० भन्दा कम राख्न लगाउन गर्नु पर्छ । तरलता अनुपात यसअघि ६ प्रतिशत रहेको थियो । कोरोनाको कारण देखाउँदै यसलाई अहिले ३ प्रतिशतमा झारिएको छ । नगद मौजदात अनुपात (सिआरआर) पनि बढाइदिनु पर्छ । क्षमता अनुसार पो खर्च गर्नुपर्छ त ।    

हाम्रो मुद्रा अन्तराष्ट्रिय स्तरमा सबैतिर मान्य छैन । अमेरिकारले गरेको नीति जस्तो हामी पालना गर्न सक्दैनौं । अमेरिकाको त डलर संसारभर चल्छ । उसले अरु मुद्रालाई हेर्नै पर्दैन । आफ्नै डलरबाट जे पनि जहाँ पनि किन्न सक्छ । तर, हामी नेपाली मुद्रा दिएर छिमेकी मुलुक भारत र चीनबाट समेत आयात गर्न सक्दैनौं ।

अहिलेको अर्थतन्त्र संकटको समाधान भनेको मौद्रिक नीतिलाई कसिलो बनाउनु पर्यो । ज्यादै उदार दिल भएर क्षमता नभएका व्यक्तिलाई पनि कर्जा बाड्दै मोटरसाइकल, गाडी, जग्गा, शेयर किन्न ऋण दिनु भएन । 

हाम्रो अर्थतन्त्र सुधारका लागि औद्योगिक क्षेत्रको विस्तार, निर्यातको आधार वृद्धि हुनु पर्छ । खासगरि उर्जा क्षेत्रमा तिव्र उत्पादन गर्नु पर्ने हुन्छ । उर्जा उत्पादन तिव्र गतिमा भएमा हाम्रो अर्थतन्त्र सुधार हुनसक्छ । अहिले विशेषगरि उर्जा उत्पादन, उर्जाको प्रसारण लाइन निर्माण, औद्योगिक क्षेत्रको विस्तारमा ध्यान दिनु पर्ने हुन्छ । यसका लागि स्पेशल इकोनोमी जोनहरु, उद्योगहरुलाई परेको अफ्ठ्यारो कम गर्ने, विदेशी लगानी भित्र्याउने हो भने अर्थतन्त्र सुधार हुन्छ । (पूर्व अर्थसचिव तथा अर्थविद रामेश्वर खनालसंग आर्थिक न्युजकी सम्वादाता रिता राउतसँगले गरेको कुराकानीमा आधारित)  

प्रतिक्रिया दिनुहोस