aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उत्पादनशिल क्षेत्रमा लगानी गर्न बैंकलाई गभर्नरको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
उत्पादनशिल क्षेत्रमा लगानी गर्न बैंकलाई गभर्नरको आग्रह

बुटवल । नेपाल राष्ट्र बैकका बैकका गर्भनर डा. चिरञ्जिबी नेपालले युवाहरुलाई नेपाल सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमा नै उद्यमी भई लाभ लिन आग्रह गरेका छन ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आज पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्र डुम्रेमा आयोजना गरेको वित्तीयय साक्षरता कार्यक्रममा बोल्दै उनले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ देखिएपनि स्वदेशको कमाई दीगो र देशलाई सम्बृद्ध बनाउन महत्वपूर्ण हुने बताए । 

पाल्पा गृह जिल्ला भएका गर्भनर नेपालले पाल्पामा व्यवसायीक तरकारी खेती र पशुपालनको राम्रो सम्भावना भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी महिलाहरुलाई आफ्ना छोरा र श्रीमान्लाई बिदेशमा होइन स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले नेपाल सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लगायतका सबै बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने भएकाले त्यस्तो अनुदानलाई उपयोग गर्न स्थानीय कृषक तथा लक्षित बर्गलाई अनुरोध गरे । 

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले तिनाउँ गाउपालिकामा एउटा मात्रै बैंक भएको अवस्थामा शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकले शाखा कार्यालय स्थापना गरी सचेतना कार्यक्रम गरेकोमा गाउँमा बैक र लगानी प्रति सर्बसाधारणको अत्यन्त सकारात्मक भावना बढेको बताए । 

मस्याम एकीकृत क्याम्पसका प्राचार्य घनबहादुर कार्कीले बैंकहरु नाफा केन्द्रीत मात्र हुन्छन भन्ने ग्रामिण क्षेत्रका जनताको सोंचलाई यो बैंकले परिवर्तन गरेको बताउँदै सरकारले दिने अनुदान र ब्याज अनुदानका कार्यक्रमबाट कर्जा प्रवाह गरी युवा पलायन रोक्न र स्थानीय आय बढाउन बैंक अग्रसर हुन आग्रह गरे । 

सोही अवसरमा स्थानीय महिला उद्यमीहरु गोमा भण्डारी, सिता कुमारी अस्लामी, दुर्गा बिष्ट र साबित्रा जिसीलाई दोसल्ला र प्रसंशा पत्रबाट सम्मान गरिएको थियो भने स्थानीय मस्याम एकीकृत क्याम्पसमा जेहेन्दार बिद्यार्थी छात्रबृत्ति बितरणका लागि ५० हजार रुपैया दिने घोषणा गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस