aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

निलम्बित गभर्नर सर्वोच्च पुगे, कारबाही फिर्ता गर्न माग गर्दै रिट दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
निलम्बित गभर्नर सर्वोच्च पुगे, कारबाही फिर्ता गर्न माग गर्दै रिट दायर

काठमाडौं । निलम्बनको खारेजी माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्चमा पुगेका छन् । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध गर्भनर अधिकारी आइतबार अदालत पुगेका हुन् ।

उनका वकिलले मुद्दा दायर गर्नका लागि सम्पूर्ण तयारी गरेर सर्वोच्च पुगेको अधिकारीले बताए । आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै आजै रिट दायर गर्न लागिएको समेत उनले आर्थिक न्युजसंग बताए ।  

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । गभर्नर अधिकारीलाई गरेको निलम्बनबारे राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर झुण्ड्याउँदै विरोध समेत गरेको छ ।  

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आज अलि ढिला दर्ता भएको हो । सुनुवाइ मङ्गलबार हुनेछ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएर स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो । 

छानबिन समितिको उक्त निर्णय खारेज गर्न रिट निवेदनमा माग गरिएको छ । मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस