काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७८÷७९ को तेस्रो त्रैमासम्ममा २७ वाणिज्य बैंकहरूले १ खर्ब ९ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानीबाट कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा २७ वाणिज्य बैंकको खुद ब्याज आम्दानी औसतमा १४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो ।
उक्त अवधिमा चार ओटा वाणिज्य बैंकको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । ब्याज आम्दानी घट्नेमा नेपाल इन्भेष्टमेन्ट, मेगा, नेपाल बङ्गलादेश र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यी वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी गत आवको तेस्रो चैमाससम्मको तुलनामा चालु आवको सोही अवधिमा ९ प्रतिशत सम्म घटेको छ ।
सबैभन्दा बढी ब्याज आम्दानी घट्नेमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेको छ । यो बैंकले गत आवको चैत मसान्तसम्म ४ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानीबाट आर्जन गरेको भएपनि चालु आवको सोही अवधिमा ९ प्रतिशतले कमी आई ३ अर्ब ९१ करोड रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ । त्यस्तै गत आवको चैत मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा मेगा बैंकको ३ प्रतिशत, नेपाल बङ्गलादेश बैंकको २ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको शून्य दशमलव ३६ प्रतिशत खुद ब्याज आम्दानीमा कमी आएको छ ।
सर्वाधिक खुद ब्याद आम्दानी बढाउनेमा सिभिल
चालु आवको तेस्रो त्रैमाससम्म सर्वाधिक ब्याद आम्दानी वृद्धि गर्नेमा सिभिल बैंक रहेको छ । गत आवको सोही अवधिको तुलनामा यो बैंकको खुद ब्याज आम्दानी ५९ प्रतिशतले वृद्धि भएको छ । यो बैंकले गत आवको चैत मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै २० प्रतिशतभन्दा बढी ब्याज आम्दानी वृद्धि गर्नेमा सिभिलसहित ११ वटा बैंक रहेका छन् ।
आम्दानीबाट बढी आर्जन गर्नेमा एनआईसी एशिया बैंक
२७ वाणिज्य बैंकमध्ये चालु आवको चैत मसान्तसम्म सबैभन्दा बढी खुद व्याज आम्दानीबाट कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले ६ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवको चैत मसान्तसम्मको तुलनामा यो बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशत वृद्धि भएको छ ।
यो बैंकले उक्त अवधिमा ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानीबाट आर्जन गरेको छ । त्यस्तै उक्त शीर्षकमा बढी आर्जन गर्ने दोस्रोमा ग्लोबाल आइएमई बैंक रहेको छ । यो बैंकले चालु आवको चैत मसान्तसम्म ७ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याजआम्दानी बापत आर्जन गरेको छ । गत वर्षको उक्त अवधिमा यो बैंकले ६ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दनी गरेको थियो । गत आवको सोही अवधिको तुलनामा यो बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस