aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिवाईसी नेपाल लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ बैशाख २०७९
सिवाईसी नेपाल लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रि अलोटमेन्ट कार्य सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सोमवार आईपीओ प्रि अलोटमेन्ट कार्य सम्पन्न गरेको जानकारी दिएको हो । 

प्रि अलोटमेन्ट सम्पन्न गरेको तीन दिनभित्र अन्तिम बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम आईपीओको अन्तिम बाँडफाँट वैशाख १५ गते गर्ने जानकारी समेत क्यापिटलले दिएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले वैशाख १५ गते बिहीवार विहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आईपीओको अन्तिम बाँडफाँट हुने जानकारी दिएका हुन ।

कम्पनीले सर्वसाधारणमा रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ बाँडफाँटको तयारी कम्पनीले गरेको हो । 

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणमा आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ६९ दशमलव ५२ गुणा बढी आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार २२ लाख ७७ हजार ७४३ जना आवेदकहरुबाट २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयर खरीद माग भएको हो । कम्पनीको आईपीओ बाँडफाँटको अहिलेको व्यवस्था बमोजिम ३६ हजार ९४८ जना आवेदकहरुले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर थप ८ जनाले एक एक कित्ताका दरले पाउनेछन् । 

कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर वितरण गरेको हो । यस कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ । यस आधारमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता रू. ३४४ दशमलव ३६ देखि रू. १ हजार ३३ सम्ममा हुने देखिन्छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८ करोड २१ लाख ८ हजार २४० रहेको छ । आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. १२ करोड १६ लाख ४१ हजार ८४० पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस