aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ऋण दिने सहकारी संस्थाले नै तिरेन् पैसा, १६ दिनमै ६०७ ऋणी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ बैशाख २०७९
ऋण दिने सहकारी संस्थाले नै तिरेन् पैसा, १६ दिनमै ६०७ ऋणी कालोसूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू कालोसूचीमा पर्ने गरेका छन् । 

कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार बैशाख महिनाको १६ दिनमा ६०७ व्यक्ति तथा संस्थाहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रले बैशाख महिनाको सुरुवातदखि १६ गते शुक्रबारसम्म उक्त संख्यामा सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेका हुन् । 

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि त्यस्ता व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । केन्द्रले जारी गरेको सूचीमा यस अवधिमा थपिएकाहरू मध्ये स्थापित निर्माण व्यवसायीदेखि उद्योगी लगायत तरकारी व्यापारीसमेत छन् । त्यस्तै, कृषि उद्यमी, मार्ट, खुद्रा पसलेदेखि सहकारी संस्थालगायत व्यक्तिहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।    

कर्जा सूचना केन्द्रका अनुसार नयाँ वर्षको दोस्रो दिन अर्थात बैशाख २ गते न्यु पञ्चकन्या फर्निचर उद्योग, शान्ती एग्रो प्रोडक्ट तनहुँ प्राइभेट लिमिटेड, प्रवेश ब्रोदर्श कन्ट्रक्सन, डीएल फिल्म्स एण्ड एडभर्टाजिङ प्राली र कालोसूचीमा परेका छन् । यससंगै यस दिन ३५ व्यक्ति, व्यापारी तथा कम्पनी कालोसूचीमा परेका छन् । 

त्यस्तै, बैशाख ४ गते होटल अन्नपूर्ण पनि कालोसूचीमा परेको छ । जसको सञ्चालक सरोज कुमार चौधरी रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । अल नेपाल ट्रान्सपोर्ट, चाल्नाखेल हार्डवेयर एण्ड सप्लायर्ससहित यस दिन ४० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । 

बैशाख महिनाको ५ गतेदेखि १६ गतेसम्मको अवधिमा महाकाल कृषी एग्रोभेट सप्लायर्स, ट्रेडमाण्डु ट्रेडलिंक, हंश खाद्य सप्लायर्स, अदिती इमपोर्ट एण्ड एक्सपोर्ट प्राली, श्रीओम एग्रो फार्म, स्काई नेपाल हेभि इकयुपमेन्ट प्राली, सबिन एण्ड ब्रोदर्श रियल स्टेट प्राली, क्रियन्स इन्जिनियरिङ प्राली, जयश्री रावल फेन्सी स्टोर्स कालोसूचीमा परेका छन् । 

त्यस्तै, यस अवधिमा एक सहकारी संस्था पनि कालोसूचीमा परेको छ । कर्जा सूचना केन्द्रका अनुसार ऋण नतिरेका कारण स्मृति सेभिङ एण्ड कोअपरेटिभ सहकारी संस्थालाई कालोसूचीमा राखिएको छ । जसका सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । यस्तै यस अवधिमा मकवानपुर, बौद्ध विद्या सदन स्कुल, एसजी हिमालयन हर्वल तथा अग्र्यानिक फार्म प्राली र होटल आयुष्मा एण्ड पार्टी प्यालेस लगायत व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस