aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीबाट ठगीएका बचतकर्ताको रकम फिर्ता गर्न तात्यो समिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
सहकारीबाट ठगीएका बचतकर्ताको रकम फिर्ता गर्न तात्यो समिति

काठमाडौं । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरुको रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति तातेको छ । बिहिबार मात्रै समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर समस्याग्रस्त सहकारीको बारेमा प्रतिवेदन बुझाइसकेको छ । यससँगै बचतकर्तामा रकम फिर्ता आउँछ भन्ने आश पलाएको छ ।  

प्रतिवेदन बुझाउने क्रममा मन्त्रालयले रकम असुली गरेर पीडितहरुलाई दिलाउने कुरामा प्रतिवद्ध जनाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए । उनले भने, ‘हामीले १२ समस्याग्रस्त अवस्थामा रहेका सहकारीहरुमा भएको कामको प्रतिवेदन, समस्या चुनौती र समाधानका उपायहरुको आदि समेटेर प्रतिवेदन बुझाएका छौं । रकम असुली गरेर पीडितहरुलाई बुझाउन अग्रसर हुने कुरामा मन्त्रालयको साथ सहयोग रहन्छ भन्ने प्रतिक्रिया आएको छ ।’ 

समितिले १२ वटा सहकारी संस्थालाई यसअघिनै समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरिसकेको छ । जुन स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ रहेका छन् । त्यसैगरि, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । 

त्यस्तै, समस्याग्रस्त घोषित सहकारीहरुमा चार्टर सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभ, ओरेण्टल सहकारी लिमिटेड, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । 

समितिका अनुसार समस्याग्रस्त घोषित उक्त सहकारीको दायित्व रकम १ अर्ब ९६ करोड ५० लाख ७० हजार रुपैयाँ रहेको समितिले जनाएको छ । समस्या ग्रस्थ रहेको सहकारीहरुबाट हालसम्म रकम १ करोड ३७ लाख ५८ हजार रुपैयाँ रहेको छ भने उठाउन बाँकी दायित्व रकम १ अर्ब ९० करोड ९८ लाख ९५ हजार रुपैयाँ रहेको समितिले जनाएको छ । समस्याग्रस्त घोषित रहेका उक्त सहकारीमा हालसम्म १ हजार २८३ सदस्यहरुको रकम भुक्तानीका लागि माग दावी परेको छ ।

उनका अनुसार ५० हजार रुपैयाँभन्दा कम रकम रहेका पीडितहले पैसा पाइसकेका छन् । १० हजारभन्दा माथिका बचतकर्ताहरुको ११ प्रतिशत र ६ प्रतिशतले गएको छ । लुनिभा सहकारीको ५२ लाख रुपैयाँ वितरणको अवस्थामा रहेको छ । 

समितिका अनुसार समस्याग्रस्त घोषित रहेको स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा १७५ जना बचतकर्ताले रकम माग गरेका छन् । जसको साँवा, ब्याज, शेयर र कर्जा समेत गरी २१ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको दायित्व रकम रहेको छ । त्यस्तै, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभमा ३५१ जनाले बचतकर्ताले रकम माग गरेका छन् । उक्त सहकारीको दायित्व रकम ९६ करोड ३० लाख ७३ हजार रुपैयाँ रहेको तथ्याङमा उल्लेख छ । 

त्यस्तै, प्रभु बचत तथा ऋण सहकारी संस्थामा माग दावी गर्ने बचतकर्ताको संख्या १३८ रहेको छ । यस सहकारीको दायित्व रकम २६ करोड ७१ लाख ३६ हजार रुपैयाँ रहेको छ । त्यसैगरी समस्याग्रस्त घोषित रहेको कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभमा ५१ जना बचतकर्ताले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, कन्जुमर बचत तथा ऋण सहकारी संस्थामा ५७ जना बचतकर्ताले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ८ करोड ७७ लाख ६६ हजार रुपैयाँ रहेको छ । समितिको तथ्याङक अनुसार कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १० जना बचतकर्ताले रकम माग दावी गरेका छन् । यस सहकारीको दायित्व रकम १ करोड १२ लाख ८२ हजार रुपैयाँ रहेकोे छ  । 

त्यस्तै, समस्याग्रस्त घोषित चार्टर सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभमा रकम माग दावी गर्ने बचतकर्ताहरुको संख्या १४ रहेको छ । जसको दायित्व रकम १ करोड ६५ लाख ३४ हजार रुपैयाँ रहेको तथ्याङमा उल्लेख छ ।  

समितिको तथ्याङक अनुसार भेगास बचत तथा ऋण सहकारीमा १७ जना बचतकर्ताले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ३ करोड ३० लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, स्टाण्डड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड सहकारीमा रकम माग दावी गर्ने बचतकर्ताको संख्या १६ रहेको छ । जुन सहकारीको दायित्व रकम १ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी, समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्थामा २४० जना बचतकर्ताहरुले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ९ करोड ७० लाख १५ हजार रुपैयाँ रहेको छ । लुःनिभा बहुउद्देश्य सहकारी संस्थामा २१४ जना बचतकर्ताले माग दावी गरेका छन् । जसको दायित्व रकम १५ करोड २९ लाख ६४ हजार रुपैयाँ रहेको तथ्याङमा उल्लेख छ ।


 

प्रतिक्रिया दिनुहोस