aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नबिल-एनबी बैंक प्राप्ति प्रक्रिया झन गिजोलिदै, राष्ट्र बैंकले कारबाही गरेकालाई ल्याउन लागेको भन्दै विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
नबिल-एनबी बैंक प्राप्ति प्रक्रिया झन गिजोलिदै, राष्ट्र बैंकले कारबाही गरेकालाई ल्याउन लागेको भन्दै विरोध

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंक र नबिल बैंकसँग प्राप्तिमा कर्मचारी समायोजनको विषय विवादीत बनेको छ । नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई नबिल बैंकमा जाँदा एक पद घटुवा गरेर लैजाने भनेपछि कर्मचारीहरु आन्दोलनमा नै उत्रेका छन् भने उता नविल बैंकमा भने बैंककै उच्च तहका कर्मचारीलाई बढुवा गरेर बैंकको प्रमुख कार्यकारी अधिकृत बनाउन पर्ने माग बढ्न थालेको  छ ।

एनबी बैंक व्यवस्थापनले भने बैंकका कर्मचारीलाई २४ महिनाको सेवा सुविधा लिए स्वेच्छिक अवकास योजना (भिआरएस)मा सहभागी हुने वा एक पद घटुवा भएर नविल बैंकमा आफ्नो जागिर निरन्तर गर्ने दुई विकल्प मात्रै दिएको छ ।  हाल एनबी बैंकमा एक हजार ५९ कर्मचारी कार्यरत रहेका छन् । संघमा ६०० कर्मचारी आवद्ध रहेका छन् । 

केहि महिना अघिमात्रै एनबी बैंकबाट आफ्नो सेवा अवधि सकिएर बैंक छोडेका ज्ञानेन्द्र ढुंगानाका विरुद्धमा नविल बैंक भित्र चर्को विरोध शुरु हुन थालेको नबिल बैंक स्रोतले बताएको छ । नविल बैंकमा नै डिपुटी सिइओमा कार्यरत विनयराज रेग्मीलाई नै बढुवा गरेर मर्जपछि प्रमुख कार्यकारी अधिकृत बनाउन पर्ने माग नबिल बैंकका कर्मचारीले गरिरहेका छन् । 

ढुंगाना एनबी बैंकको प्रमुख कार्यकारी विराटनगरको पार्थ इन्टरनेशनललाई विना धितो १० करोड ऋण प्रवाह गरेको आरोपमा नेपाल राष्ट्र बैंकबाट कारबाही भोगि कुनै पनि बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न अयोग्य भएका व्यक्तिलाई बैंकमा ल्याउन लागेको भन्दै नविल बैंकका कर्मचारीले विरोध गरेका हुन ।

 ढुंगानालाई २०७७ असार १ गते पार्थ इन्टरनेशलनलाई विना धितो ऋण दिएकोमा राष्ट्र बैंक ऐन २०५८ को दफा १०० अनुसार कारबाही समेत गरेको थियो । र, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा १८ को उपदफा १ तथा दफा २९-१ को(घ) अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न अयोग्य हुने गरि कारबाही समेत गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस