काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसंग साझेदारी गरेको छ । लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसंग सहकार्य गर्नेछ ।
नबिल बैंक पुर्वाधार विकासमा विगत ३७ बर्ष देखि नै योगदान गर्दै आईरहेको छ । यसै क्रममा पुर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० बर्ष देखी नै निकै सहभागिता र सकृयता देखाउदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवद्र्धन गर्दै आइरहेको छ ।
सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पुर्वाधारकँ कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ ।
विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएको लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बताए ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसंगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए । यसैक्रममा नबिल बैंक यस गरिमामय संस्था लगानी बोर्ड नेपालको कार्यालयको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउँदा बैंक गौरान्वित रहेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।
प्रतिक्रिया दिनुहोस