aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको होः गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको होः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाईएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने, ‘निक्षेप बढोस् भनेर ब्याजदर बढाएको होइन । आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको हो ।’ जुन वस्तु हामीले एक वर्षमा आयात गर्थ्यौँ अहिले १० महिनामा नै त्यति आयात भइरहेको उनले जानकारी दिए । वर्षेनी आयात बढ्दै जानु चिन्ताको विषय भएको समेत उनले बताए । 

त्यस्तै, गभर्नर अधिकारीले आयातमा आधारित अर्थतन्त्र भइरहेकोले यसले मूल्यवृद्धि बढाउन सहयोग गरेको बताए । साथै उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति पनि ह्वात्तै बढेको उनले बताए । गभर्नर अधिकारीले भने, ‘उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति पनि ह्वात्तै बढेको छ। नेपालमा मात्रै यस्तो भएको होइन । विश्वभर नै यो समस्या रहेको र मुद्रास्फीति धेरै बढेको छ।’ 

त्यस्तै, उनले अहिलेको अवस्था निजी क्षेत्रको नाफा जोगाउनुभन्दा अर्थतन्त्र बचाउनुमा लाग्नुपर्ने बताए । ‘अर्थतन्त्रको अवस्था जोगाउनुपर्ने छ । अहिले निजी क्षेत्रले बढी नाफामा जोड दिनु हुँदैन। पहिले अर्थतन्त्र जोगाउनुपर्छ’, उनले भने । 
 

प्रतिक्रिया दिनुहोस