काठमाडौं । हिमालयन बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो ।
बैंकले उक्त ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर जबरा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिनेछ ।
कमलादी स्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस हिमालयन बैंक लिमिटेडले उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस