
काठमाडौ । कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) को नयाँ सूत्र कार्यान्वयमा वाणिज्य बैंकले आपत्ति जनाएका छन् । ऋणको ब्याजदर घटाउन भन्दै राष्ट्र बैंकले स्प्रेड गणना विधि (सूत्र) परिमार्जन गरेको थियो ।
नयाँ गणना विधि लागु भए बैंकहरूको नाफा करिब २५ प्रतिशतले खुम्चिने भन्दै बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले आपत्ति जनाएको हो । बुधबार बसेको संघको बैठकले उक्त विषययमा ध्यानाकर्षण भएको जनाउने निर्णय गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा भएका विषय कार्यान्वयनका लागि सोमबार परिपत्र जारी गरेको थियो । सोही परिपत्रमार्फत स्प्रेडको गणना विधि परिमार्जन, अन्तर बैंक कारोबारलाई सीसीडीमा गणना गर्न नपाइने, बैंकले बैंकास्योरेन्स गर्न नपाउनेलगायत व्यवस्था गरेको छ । यी व्यवस्थाले ऋणको ब्याजदर सस्तिने राष्ट्र बैंकले दाबी गरेको थियो ।
उल्लिखित व्यवस्थाले बैंकिङ क्षेत्रमा मात्र नभएर समग्र अर्थतन्त्रमा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने भएकाले ध्यानाकर्षण भएको संघले जनाएको छ । ‘परिपत्रमा उल्लेख भएका केही बुँदाहरूले समग्र अर्थतन्त्र तथा बैंकिङ क्षेत्रमा दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने देखिएकाले संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस