
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्येपुर ठिमी नगरपालिका६ बस्ने खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका(९ सल्ले ठेगाना भएका ५१ वर्षीया ईन्द्र कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।
राईले २०७७ माघ २४ गते आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी ग्लोवल आईएमई बैंक लिमिटेड भक्तपुर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरिमनोहरा नगरपालिका–१ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले १ महिना कैद र १ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस