aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दर्जन बैंकमध्ये कुनको स्थिति कस्तो ?

  • शान्ती श्रेष्ठ
    शान्ती श्रेष्ठ
  • विहीबार, २३ साउन २०७६
दर्जन बैंकमध्ये कुनको स्थिति कस्तो ?

काठमाडौं । विभिन्न कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्नेक्रम जारी रहेको छ । यसैक्रममा २८ वटा वाणिज्य बैंकमध्ये हालसम्म  १३ वटाले वित्तीय विवरण प्रकाशित गरिसेकका छन् ।
तरलता समस्या पटक–पटक अल्झिए पनि वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुको स्थिति समग्रमा उत्साहजनक नै देखिएको छ । एक दर्जन बैंकको अवस्थालाई यसरी विश्लेषण गरिएको छ । 

चुक्ता पुँजी तथा खुद मुनाफा


गत आर्थिक वर्षमा १३ वटा बैंकमध्ये ३ वटाले ९ अर्बभन्दा माथि चुक्ता पुँजी पुर्याएका छन् । जसमध्ये सबैभन्दा बढी चुक्ता पुँजी कृषि विकास बैंकले १४ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । यस बैंकको नाफा पनि सबैभन्दा बढी ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १९ दशमलव १५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । 
त्यस्तै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको यस बैंकको १० अर्ब ३१ करोड रुपैयाँ र तेस्रो स्थानमा नेपाल बैंकको ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । सबैभन्दा बढी नाफा कमाउनेमध्ये दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकले ३ अर्ब ४ करोड रुपैयाँ कमाएको छ । सबैभन्दा कम नाफा कुमारी बैंकले गरेको छ । यस बैंकको नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।


अघिल्लो वर्षको तुलनामा नाफा अत्याधिक बढाउनेमा प्रभु बैंक रहेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ५ करोड ५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले जम्मा ९६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा ११२ दशमलव शून्य ५ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षभन्दा नाफा घटाउनेमा नेपाल बैंक रहेको छ । जसले नाफा २ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा १८ दशमलव ७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष नाफा ३ अर्ब २१ करोड रुपैयाँ कमाएको थियो ।

निक्षेप तथा कर्जा


१३ वटा बैंकले एक वर्षमा जम्मा १२ खर्ब ९२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जामा ११ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ । ६ वटा बैंकले १ खर्ब रुपैयाँमाथि निक्षेप संकलन गरेका छन् भने कर्जामा ४ वटा बैंकले खर्ब रुपैयाँमाथि लगानी गरेका छन् ।
निक्षेपमा सबैभन्दा बढी एभरेष्ट बैंकले १ खर्ब २९ अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको छ भने यस कम्पनीले कर्जामा १ खर्ब ४ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छ । कर्जामा भने सबैभन्दा बढी कृषि विकास बैंकले १ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ । सबैभन्दा कम निक्षेप तथा कर्जा लगानीमा सिटिजन्स बैंक रहेको छ । जसले निक्षेपमा ७० अर्ब ५० करोड रुपैयाँ संकलन गरी कर्जामा ६२ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका छन् । 


खुद ब्याज आम्दानी तथा सञ्चालक मुनाफा


खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा सबैभन्दा अगाडि कृषि विकास बैंक रहेको छ । जसले खुद ब्याज आम्दानीमा ७ अर्ब ३७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफामा ५ अर्ब ४७ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा नेपाल बैंक रहेको छ भने तेस्रो स्थानमा एभरेष्ट बैंक रहेको छ ।
त्यस्तै खुद ब्याज आम्दानीमा सबैभन्दा कम सिटिजन्स बैंकको २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफामा सबैभन्दा कम कुमारी बैंकको रहेको छ । जसको सञ्चालन मुनाफा १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी तथा बजार मूल्य


कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल साधारण शेयरले भाग गर्दा साधारण शेयरधनीले प्रतिकित्ता शेयर बराबर कति कमाइ गरे भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँछ । कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी उच्च भएको खण्डमा सो कम्पनी सबल भन्ने जनाउँछ । 

१३ वटा कम्पनीमा प्रतिशेयर आम्दानी सबैभन्दा बढी कृषि विकास बैंकको ४४ दशमलव ६७ रुपैयाँ रहेको छ । सबैभन्दा कम कुमारी बैंकको १५ दशमलव ३६ रुपैयाँ रहेको छ ।साताको अन्तिम दिन बिहीबारको बजार मूल्यको आधारमा सबैभन्दा बढी शेयर मूल्य एभरेष्ट बैंकको रहेको छ । जसको शेयर मूल्य प्रतिकित्ता  ६ सय ५३ रुपैयाँ रहेको छ । सबैभन्दा कम बजार मूल्य कुमारी बैंकको २ सय ११ रुपैयाँ प्रतिकित्ता रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस