
काठमाडौं । नेपालको अर्थतन्त्रको प्रमुख खम्बा मध्येको एक रुपमा विकास गरेको सहकारीमा विकृति बढ्दै गएको छ । देशभर करिब २९ हजार सहकारी सञ्चालनमा रहेका छन् । पछिल्लो समय सहकारीबाट ठगिने सदस्यहरुको संख्या बढ्दो रहेको छ । दैनिक रुपमा हजारौंको संख्यामा बचतकर्ता ठगिएका समाचारहरु प्रकाशित भइरहेका छन् । सहकारीबाट ठगिएका बचतकर्ताहरुको लर्को सहकारी विभागमा गुहार्न पुग्ने गरेको छ ।
हालै ११ वटा सहकारी त संकटग्रस्त रहेको सरकारी घोषणा समेत भइसकेको छ । यी सहकारीहरु मार्फत डुबेको सदस्यहरुको २ अर्ब भन्दा बढी रकम कहिले उठ्ने हो पत्तो छैन । काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका ४१ वटा सहकारी विरुद्ध विभिन्न समयमा विभागमा उजुरी परेको छ । सहकारी विभागको तथ्यांक अनुसार हालसम्म १ हजार ७६७ जना बचतकर्ताहरुले ८१ करोड ५३ लाख ६२ हजार ६७४ रुपैयाँ बराबरको माग दावी सहित विभागमा उजुरी दिएका छन् ।
सहकारीबाट बचतकर्ता ठगिएको उजुरी बढेसँगै कालोसूचीमा पर्ने सहकारीहरुको संख्या पनि बढिरहेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ११ महिनामा १७ वटा सहकारीहरु कालोसूचीमा परेका छन् । यो संख्या चालु आवको साउन देखि जेठ २७ गतेसम्मको हो ।
विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण सहकारीहरु कालोसूचीमा परेका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या पनि बढ्दो क्रममा छ । विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू कालोसूचीमा पर्ने गरेका छन् ।
यी हुन्, कालोसूचीमा परेका सहकारीहरु
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आवको ११ महिनाको अवधिमा कालोसूचीमा परेका सहकारीमा तीन वटा बहुउद्देश्यीय सहकारी, दुई कृषि सहकारी र अरु बचत तथा ऋण सहकारीहरु रहेका छन् ।
कालोसूचीमा परेका बहुउद्देश्यीय सहकारीहरुमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभ र युवा विकास बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । किरणोदय बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा नरेन्द्र प्रकाश सुवेदी रहेका छन् । त्यस्तै, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभका सञ्चालकहरुमा अरविन्द बिष्ट, दिवाकर रिजाल र सुश्री इन्दिरा विष्ट रहेका छन् । त्यस्तै, युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा होम बहादुर थापा क्षेत्री, किसान राई र संगम राई रहेका छन् ।
त्यसैगरी, कालोसूचीमा परेका कृषि सहकारीमा जनसेवा कृषि सहकारी र सहयात्री कृषि सहकारी संस्था रहेका छन् । कालोसूचीमा परेको सहयात्री कृषि सहकारी संस्थाका सञ्चालकहरुमा विमला राई, मुकुन्द प्रसाद अधिकारी, नारायण विश्वकर्मा, राजेन्द्र कार्की, राजु श्रेष्ठ र तिलक बहादुर यस्माली थापा रहेका छन् । भने, जनसेवा कृषि सहकारीका सञ्चालक भजन राणा, भिममाया तामाङ, धनमाया तामाङ, दिल बहादुर तामाङ, हिनीमाया तामाङ, शान्तीमाया तामाङ र टेकमाया तामाङ रहेका छन् ।
केन्द्रका अनुसार कालोसूचीमा परेका बचत तथा ऋण सहकारीमा सहकारीमा स्मृति सेभिङ एण्ड को–अपरेटिभ रहेको छ जसको सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै, सरफी सेभिङ एण्ड को–अपरेटिभ पनि कालेसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालकहरुमा इन्द्रावती श्रेष्ठ, राजकुमार श्रेष्ठ र टेकप्रसाद आचार्य रहेका छन् ।
कालोसूचीमा परेका अन्य सहकारीहरुमा रारा बचत तथा ऋण सहकारी रहेको छ । उक्त सहकारीका सञ्चालकहरुमा विनोद कुमार अग्रवाल, कुमार मगर र शेर बहादुर थापामगर रहेका छन् । कालोसूचीमा परेको अर्को सहकारी हो, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था । जसको सञ्चालक लोकनाथ सापकोटा, नारायणी केसी र नरेन्द्र बहादुर कार्की रहेका छन् ।
केन्द्रका अनुसार कालोसूचीमा परेको प्राइम गोरखा सेभिङ एण्ड को–अपरेटिभको सञ्चालकहरुमा डिल्लीशेर राई, मधु गुरुङ र सञ्जय राई रहेका छन् । त्यस्तै, कान्ती सेभिङ एण्ड को–अपरेटिभ संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालक असलमान तामाङ, हिरामान तामाङ र नन्द बहादुर थकाली रहेका छन् ।
कालोसूचीमा परेको सहकारीमा धनलक्ष्मी सहकारी संस्था पनि रहेको छ । उक्त सहकारीका सञ्चालकमा मनोज गिरी र सविता श्रीवास्तव रहेका छन् । केन्द्रले हलेश्वर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा बज्रसिंह लामा र मोहनसिंह लामा रहेका छन् ।
केन्द्रका अनुसार बैशाख २८ गते माँ अम्बे बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । यस संस्थाका सञ्चालकहरुमा बिजय कुमार छिनाल र निर्मल कुमार सिन्जाली रहेका छन् । त्यस्तै, कालोसुचीमा पर्ने सहकारीमा द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था रहेको जसका सञ्चालहरुमा भीष्म प्रसाद भण्डारी, पवित्रा दमाई र शान्ति तिवारी रहेका छन् ।
त्यसैगरी, केन्द्रले सिरेटो बचत तथा ऋण सहकारी संस्था र चेतना बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको छ । सिरेटो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा रिना आचार्य, सिर्जना रिजाल र शुशिला लुईटेल रहेका छन् ।
केन्द्रका अनुसार चेतना सहकारी संस्था पनि कालोसूचीमा परेको छ उक्त सहकारीका सञ्चालकहरुमा अशेश्वर यादव, विजय कुमार साह हलुवाई, मोहन बहादुर बराल, निर्मला देवी ठाकुर, रानीदेवी ठाकुर, शिवजी हलुवाई र शुभ नारायण गोहिवर यादव रहेका छन् ।
के छ व्यवस्थामा ?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ को उपदफा (११) अनुसार ‘ऋणीले बैंक वा वित्तीय संस्थासँग लिएको कर्जा र त्यसमा लाग्ने ब्याज तथा हर्जाना कर्जा लेनदेन सम्बन्धी लिखत वा करारमा उल्लेखित भाकाभित्र चुक्ता नगरेमा बैंक वा वित्तीय संस्थाले त्यस्तो ऋणीलाई प्रचलित कानून बमोजिम कालो सूचीमा राख्न कर्जा सूचना केन्द्र लिमिटेडमा लेखी पठाउनु पर्ने छ ।’
कर्जा सूचना केन्द्रको काम बैंक तथा वित्तीय संस्थालाई कर्जा स्वीकृत प्रक्रियामा सहयोग गर्ने उद्देश्यले कुनै बैंक तथा वित्तीय संस्थाले खराब ऋणीमा सूचीकृत गरेको अवस्थामा सो बारे सार्वजनिक जानकारी गराउनु हो । खासगरी अर्को बैंकलाई पनि ऋणीको अवस्थाबारे जानकारी होस् भन्ने उद्देश्यले स्थापना भएको सूचनाको एकद्धार प्रणालीको काम कर्जा सूचना केन्द्रले गर्ने गर्छ ।
जुन सूचना अन्य सबै बैंक तथा वित्तीय संस्थाले अध्ययन गर्ने र त्यस्ता ग्राहकलाई बैंकले दिने कर्जा सुविधाबाट बञ्चित हुने गर्दछ । यसले बैंक तथा वित्तीय संस्थाका ग्राहक र ऋणीहरुको जानकारी राख्ने गर्दछ । ऋण असुलीका सबै कारबाही चलाउँदा समेत असुल हुन नसकेमा त्यस्ता व्यक्तिको राहदानी समेत रोक्का तथा जफत गरी राज्यका सेवा सुविधाबाट समेत वञ्चित गर्न सक्ने व्यवस्था ऐनमा छ ।
प्रतिक्रिया दिनुहोस