
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक हुने भएका छन् । यी दुई बैंकबीच जेठ २७ गते शुक्रबार मर्जर सम्झौता भएको हो । हिमालयन बैंकसँगको मर्जर सम्झौता असफल भएसँगै नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकसँग मर्जरमा जान लागेको हो ।
लामो समय हिमालयन बैंकसँगको मर्जर सम्झौताका कारण शेयर कारोबार बन्द भएको नेपाल इन्भेष्टमेण्ट बैंकको सोमवारदेखि फेरी कारोबार बन्द हुनेछ । सँगै मेगा बैंकको पनि शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का रहनेछ ।
शुक्रबार भएको सम्झौता अनुसार मर्ज पछि बन्ने बैंकको नाम ’नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा इन्भेष्टमेण्ट बैंकबाटै प्रतिनिधित्व रहने सम्झौता गरिएको छ । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व रहने भएको हो । यी दुई बैंकबीच १०० बराबर ९० को शेयर आदानप्रदान गर्ने प्रारम्भिक सम्झौता भएको हो । आगामी ६ महिनाभित्र मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार गर्ने योजना बैंकहरूको छ ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी रू. १८ अर्ब ३० करोड र मेगा बैंक नेपाको चुक्ता पुँजी रू. १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी रू. ३२ अर्ब पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेगा बैंकको वितरणयोग्य नाफा रू. ९६ करोडभन्दा बढी रहेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको रू. ४७ करोडभन्दा बढी छ ।
हाल मेगा बैंकको जगेडा कोष रकम रू. १४ अर्ब अर्बभन्दा बढी र नेपाल इन्भेष्टमेण्ट बैंकको रू. ५ अर्बभन्दा बढी रहेको छ । मेगा बैंकको कर्जा लगानीतर्फ रू. १ खर्ब ५० अर्बभन्दा बढी छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको रू. १ खर्ब ७३ अर्बभन्दा बढी छ । निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको रू. रू. १ खर्ब ८२ अर्बभन्दा बढी र मेगा बैंक नेपालको रू. १ खर्ब ५२ अर्बभन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस