भरतराज ढकाल मुक्तिनाथ विकास बैंक स्थापना गर्ने एक जना अभियान्ता रहेर बैंकर बनेका ढकालको परिचय केहि फेरिएको छ । हाल उनी नेपालमा कृषिलाई व्यवसायीकरण गर्न सकिन्छ भन्ने अभियानका अभियान्ता बन्ने बाटोमा रहेका छन् ।
ढकाल विकास बैंकहरुमध्ये अब्बल मानिएको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको जागीर छोडेर हाल मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनै ढकालसँग नेपालमा कृषिलाई व्यवसायीकरण गर्न कसरी सम्भाव छ भन्ने विषयमा आर्थिकन्यूज डटकमले गरेको कुराकानीको सम्पादित अंशः
लामो समय बैंकिङ क्षेत्रमा बिताउनु भयो । पछिल्लो समय कृषिसंग सम्बन्धीत क्षेत्रमा जोडिनु भएको छ । बैंकिङ र कृषिमा कसरी जोडिनु भयो ?
खासगरि बैंकिङ क्षेत्र र कृषि एक अर्काको परिपुरक हुनुपर्ने हो । यो दुबै क्षेत्र संगसंगै लैजानु पर्छ । म बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुँदा नै ग्रामीण क्षेत्रमा वित्तिय पहुँच पुर्याउनु पर्छ र त्यहाँका मानिसहरुलाई रोजगार बनाउनका लागि कृषिमा आवद्ध हुनुपर्छ भन्ने लागेर जोडिन पुगे ।
किसानहरुलाई वित्तीय क्षेत्रको सुविधाले मात्रै नहुने रहेछ । उनीहरुलाई वित्तीयभन्दा गैर वित्तीय सेवाको आवश्यकता बढी हुने रहेछ । जबसम्म हामीले कृषि उत्पादनको मूल्यको सुनिश्चितता गर्दैनौँ तबसम्म कृषि उतपादन समेत बढ्न सक्दैन । कृषि उत्पादनको वृद्धि नभएसम्म देशको समग्र अर्थतन्त्र माथि उठ्दैन भन्ने मेरो पहिलादेखि कै सोच रहेको थियो ।
पछिल्लो समय नेपालको अर्थतन्त्र पनि धरासायी बन्दै गएको अववस्था छ । वित्तीय क्षेत्रको लगानी समेत अनुत्पादन क्षेत्रमा गइरहेको अवस्था छ । यस्तो बेला हामीले नै केहि गर्नु पर्छ भन्ने मेरो सोच थियो । यो क्षेत्रमा काम गर्नु पाउनु मेरो लागि अवसर पनि हो । बैंक र कृषि क्षेत्रलाई संगसंगै लैजानको लागि नै म यस क्षेत्रमा जोडिन पुगेको हो ।
कतिपय मानिसहरु पद प्रतिष्ठाको लागि विभिन्न चलखेल लगायतका कामहरु गर्छन् । तर, म बैंकको सिईओ पद छोडेर कृषिमा जोडिएको छु । म कुनै बाध्यता वा करले यस क्षेत्रमा लागेको होइन । म आफ्नो मनदेखि चाहेर कृषि कर्म नै गर्छु भनेर प्रतिबद्ध भएर यस क्षेत्रमा लागेको हो ।
बैंकसँग कृषि जोडिन तयार हुने खालको टिम जुट्न निकै गाह्र्रो पर्न सक्छ । यहाँले कसरी भेट्नु भयो ?
यसमा पहिलो कुरा सोचको कुरा आउँछ । तपाईंले आफ्नै टिमलाई सकरी विश्वास गर्नु भएको छ भन्ने पनि आउँला । नेपालमा पछिल्लो समय छिटो सजिलै पैसा कमाउने तिर धेरै जना लागेको पाइन्छ । यसले गर्दा पनि नेपालीहरु उत्पादनमुलक क्षेत्रमा जोडिने र पछि रिटर्न हुने खालको क्षेत्रमा लाग्ने कमै भए ।
आजभन्दा २० वर्ष अघिको कुरा गर्ने हो भने त्यतिबेला शहरमा बस्ने भन्दा गाउँमा बस्नेहरु धेरै थिए । ती गाउँमा बस्नेहरु सबैले कृषि व्यवसाय गर्थे । त्यतिबेला बजारको वयवस्थापन नभए पनि सबैले आफ्नो लागि आफै उत्पादन गरिरहेको अवस्था थियो । त्यतिबेला बजारसंगै विभिन्न पूर्वाधारहरुको समेत विकास भएको थिएन । त्यतिबेला बजारको खोजि पनि कम हुन्थ्यो ।
तर, पछि विस्तारै मानिसहरुको जीवनशैली परिवर्तन हुँदै गयो । यसले गर्दा पनि गाउँ खाली हुँदै गयो । बस्ती शहर बजार केन्द्र्रित हुँदै गए । गाउँका जग्गा जमिन बाँझो बनेका छन् ।
यस्तो अवस्थामा कृषिबाट नै केहि गर्न सकिन्छ । कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ । कृषि क्षेत्रमा ठूलो सम्भावना छ भनेर मैले मेरो साथीहरुलाई आफ्नो भिजन प्रस्तुत गरे । मेरो भिजन सुनिसकेपछि साथीहरु कृषिमा लगानी गर्न इच्छुक हुनु भयो । यसरी म यस क्षेत्रमा जोडिए । अहिले पनि मैले कृषि क्षेत्रमा मलाई पैसा चाहियो भने भने साथीहरुले अर्बौ रुकम लगानी गर्न तयार हुनुहुन्छ । उहाँहरुको लगानीको प्रतिफल ग्यारेन्टीका साथ दिन सक्छु भन्ने म पनि प्रतिबद्धता जनाउछु ।
नेपालमा कृषिको व्यवसायीकरण भइसकेको अवस्था छैन । कृषि क्षेत्रमा धेरै चुनौति नै छन् । फाइदा लिन खासै सकिदैन भन्ने एउटा मानसिकता पनि छ । यस्तो अवस्थामा तपाईंले कसरी नाफा गरेर देखाउनु हुन्छ ?
संसारका सबैजसो मानिसहरुको खर्च गर्ने ठाउँ अथवा प्रयोग गर्ने कुरा भनेको प्राय एउटै हो । उनीहरुको प्रमुख खर्च के मा हुन्छ भनेर हामीले हेर्यौ भने गाँस, बास र कपासमा नै बढी हुने गरेको छ । यी नैसंग सम्बन्धीत व्यवसाय नै संसारभर फस्टाएका छन् । खाने, लगाउने र पिउनेको कच्चा पदार्थ त्यो सबैजसो कृषिसंग नै जोडिन्छ । यसो हुँदा संसारको सबैभन्दा ठूलो व्यवसाय भनेको नै कृषि हो । तर, हामीले संसारको सबैभन्दा ठूलो व्यवसाय भनेको नै कृषि हो भनेर बुझउन सकेका छैनौं ।
हिजोका दिनमा हामीले राजनीतिक परिवर्तन भएपछि सबैकुरा ठिक हुन्छ झै गयौं । आर्थिक परिवर्तनको पाटो भने खोजेनौं । कृषिका समस्याहरु के के हुने कसरी समाधान गर्ने भनेर गम्भिररुपमा अहिलेसम्म छलफल भएको छैन । कृषिसंग सम्बन्धीत धेरैजसो पोलिसीहरु फेल भएको अवस्था छ । किन फेल भए भनेर खोज्ने काम हामीले गरेनौं र नेपालले कृषि क्षेत्रका समस्याहरु पहिचान गर्न सकेनौं ।
अन्य देशहरुले दिगो नीति सहित काम गरिरहेको अवस्था छ तर, नेपालमा अहिले धान रोप्नका लागि पनि मल छैन । त्यससंगै धेरै मानिसहरु जग्गा भएर पनि कृषि कर्म नगरेको अवस्था छ । जोसंग खेतीयोग्य जग्गा छ उनीहरुले कृषि कर्म गर्दैन । जोसंग जग्गा छैन उसले कृषि कर्म गगर्न चाहान्छ । जग्गा नभएकाहरुलाई कसरी जग्गा दिएर कृषि कर्ममा लगाउने भनेर अन्य देशहरुका स्पष्ट नीति छ तर, हाम्रोमा त्यस्तो छैन ।
कृषि कर्म युवाहरुले नगरी हुँदैन । परम्परागत तरिकाले कृषि गर्ने होइन । नयाँ प्रविधिले कृषि गर्नका लागि धेरै प्रविधि उपलब्ध छैनन । आधुनिक उपकरणहरु छैनन् । उत्पादनपछि बजार र मूल्य निर्धारणको विषय पनि निश्चित छैन । यी सबैको सुनिश्चितता सरकारले गर्नु पर्ने हो गरिदिएको छैन । संसारभरका मानव जगतका लागि सबैभन्दा उत्तम पाटो भनेको कृषि हो भनेर लाग्ने हो भने यसबाट परिणाम आउँछ । अहिले जति पनि बनेका संरचना छन् यसले कुनै प्रतिफल दिदैन ।
कृषि क्षेत्रमा लगानी गर्ने हो भने दिगोरुपमा प्रतिफल पाइन्छ भनेर हामी अगाडी बढीरहेका छौं । हामीले कृषि क्षेत्रमा भएका समस्याहरुको पहिचान गरेका छौं । समस्याहरुको समाधान र चुनौतीहरुसंग लडेर कसरी अगाडी बढ्ने भन्ने स्पष्ट खाका बनाएर अगाडी बढेका छौं । हामीले योजना भिजन अनुसार नै कृषी क्षेत्रमा लागिरहेका छौं ।
कृषि क्षेत्रमा लाग्दा राम्रो छैन भन्नेहरुलाई म प्रश्न गर्न चाहान्छु । यसो हो भने तपाईंहरुले कसरी खानेकुरा खाइरहेका छौं ? सधै घाटा हुन्छ भन्दै खर्बौँ रुपैयाँको कृषिजन्य वस्तु आयात गरेर किन नेपालीहरुले खाइरहेका छन् ? हामीले आयात गरेर खाइरहेका कृषिजन्य वस्तुहरु नेपालमै राम्रारी उत्पादन गर्न सकिन्छ ।
अहिलेसम्म जिविको पार्जनमुखी कृषि मात्रै हुँदै आएको छ । कसरी यसलाई व्यवसायीकरण गर्न सकिन्छ ?
कृषि क्षेत्रमा लगाव बढाउनका लागि वित्तीय क्षेत्रमा पैसा र र बीमा चाहियो । र, गैरवित्तीय क्षेत्रमा कृषि सामाग्री लगायत मूल्यका कुराहरु हुने भए । कुनै व्यक्तिले कृषि कर्म गर्छ भन्यो भने उसलाई वित्तीय सहयोगदेखि प्राविधिक ज्ञान समेत आवश्यक पर्छ । कृषि क्षेत्रमा काम गर्न चाहानेहरुका लागि ऋणदेखि मूल्य बजार सुनिश्चितताको काम गरिदिने कुनै संस्था पाइदैन । उत्पादन भएको वस्तुको बजार नपाउँदा गुनासो गर्ने समेत ठाउँ छैन । कृषकको उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता हुने हो भने कृषिलाई व्यवसायीकरण गर्न सकिन्छ ।
नेपालमा ६० प्रतिशत मानिसहरु कृषिमा परनिर्भर छन् भनिदै आएको छ । के को आधारमा यो तथ्यांक भनिएको हो । मलाई यो विश्वास नै लाग्दैन । तर, जबसम्म हामीले कृषिमा निर्भर रहेका मानिसहरुको तथ्यांक घटाउँदै लैजादैनौं तबसम्म कृषिमा व्यवसायीकरण नै हुँदैन । प्रविधिको प्रयोग गरेर थोरै जग्गामा धेरै उत्पादन कसरी गर्न सकिन्छ । युवाहरुलाई कृषिमा कसरी जोड्न सकिन्छ भनेर लागि पर्नु पर्यो ।
त्यतिमात्रै होइन किसानहरुको पनि वर्गिकरण हुनुपर्छ । कति किसानले जिविकोपार्जनका लागि उत्पादन गरेका छन् । कतिले बजारसम्म बिक्री गरिरहेका छन् र कतिले अन्तराष्ट्रिय बजारसम्म कृषि उत्पादन गरेका छन् भनेर छुट्याउनु आवश्यक छ । जग्गाको व्यवस्थापन, किसानको वर्गिकरण गर्नु पर्यो र जो किसान हो । उसले मात्रै म किसान हो भन्नु पर्यो र मात्रै कृषि क्षेत्रमा केहि प्रगति गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस