aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने सम्झौता मिति सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने सम्झौता मिति सर्यो

काठमाडौं । शुक्रबार हुने भनिएको हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ती गर्ने सम्झौताको मिति सरेको छ । शुक्रबार दिउँसो १ बजे सोल्टी होटलमा एक कार्यक्रमबीच प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर हुने भनिएकोमा सोमबारसम्मलाई सारिएको हो ।  

सम्झौता मिति सारिएकोबारे बैंक स्रोतले आर्थिक न्युजसंग भने, ‘दुबै बैंकको सञ्चालक समितिले समय उपलब्ध गराउन सक्नु भएन । यसका साथै दुई बैंकबीच आवश्यक छलफल गर्नु पर्ने भएकोले सम्झौता मिति सारिएको हो । आगामी हप्ताको सोमबार सम्झौता पत्रमा हस्ताक्षर गर्ने भनिएको छ ।’     

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर सम्झौता अस्वीकृत गरेको हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने निर्णयमा पुगेको हो । हिमालयन बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सिभिल बैंकलाई प्राप्तिका लागि सम्झौता गर्न स्वीकृति प्रदान गरेको थियो ।      

हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८१ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी  मौखिक सहमति गरेको थियो । दुबै बैंकबीच मौखिक रुपमा तय भएको शेयर स्वाप रेसियो राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएपछि गरिने सम्पत्ती दायित्व मुल्यांकन (डिडिए) रिपोर्टका आधारमा परिवर्तन हुन सक्ने समेत बैंकको भनाई छ ।   

हाल हिमालयन बैंकको चुक्तापूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ भने सिभिल बैंकको ९ अबै ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ । हिमालयन बैंकले गत वर्षको सञ्चित मुनाफाबाट यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गरेको छ । 

सिभिल बैंकले भने गत वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा हिमालयन बैंकको अन्तिम शेयरमूल्य बिहीवार प्रतिकित्ता . ३०१ दशमलव ५० रुपैयाँ र सिभिल बैंकको प्रतिकित्ता २११ रुपैयाँ कायम भएको छ । प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरपश्चात् सिभिल बैंकको शेयर कारोबार भने रोक्का हुनेछ । 


 

प्रतिक्रिया दिनुहोस