aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एउटै व्यापारिक घरानाले ठूलो मात्रामा बैंकिङ कर्जा लिँदा अर्थतन्त्रमा जोखिम बढ्योः गभर्नर अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
एउटै व्यापारिक घरानाले ठूलो मात्रामा बैंकिङ कर्जा लिँदा अर्थतन्त्रमा जोखिम बढ्योः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले ठूलो मात्रामा बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आउँदो मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले एउटै व्यापारिक घरनाले बैंकिङ कर्जा सुविधा अत्याधिक लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताएका हुन् । 

एउटै व्यवसायिक घराना बैंक, इन्स्योरेन्स, धितोपत्र र अन्य व्यवसायमा सहभागिता रहेकाले सीमित समूहले मात्रै कर्जा लिँदा अर्थतन्त्रमा एक खालको जोखिम निम्त्याउन सक्ने उनले बताए । गभर्नर अधिकारीले भने, ‘एउटै व्यावसायिक घराना बैंक, इन्स्योरेन्स, धितोपत्र र अन्य व्यवसायमा सहभागी भएको हुन्छ । यसरी व्यापारमा सबै कर्जा निश्चित व्यवसायीहरूले लिँदा भविष्यमा अर्थतन्त्रमा एक खालको जोखिम निम्तिन्छ । राष्ट्र बैंकले विगतदेखि बैंकर्स र व्यवसायी छुट्याउने काम गरेको छ तर विविध कारणले हुन नसकेको छैन ।’ 

त्यस्तै, उनले अब हामीले कुनै एउटा व्यावसायिक घराना डुब्दैमा अर्थतन्त्रलाई असर नपर्ने स्थिति सिर्जना गर्नु पर्ने बताए । अर्थतन्त्रको फाइदा सबैले पाउनु पर्ने उनको भनाई छ । 

आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने गभर्नर अधिकारीले उल्लेख गरेका छन् । गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न बैंकको ब्याजदर बढाउनु पर्ने बताउँदै भने, ‘मूल्यवृद्धि हामीले आशा गरेको भन्दा माथि नै जाने सम्भावना छ । आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ । आगामी वर्ष पनि अहिले मूल्यवृद्धि भए जस्तै कायम रहने देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस