
काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि २४ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असार २४ गते ऋणपत्र बाँडफाँट गरेको जानकारी दिएको हो । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ५० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो भने बाँकी ६० प्रतिशत अर्थात रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गरेको थियो । यस ऋणपत्र खरीदका लागि सामूहिक लगानीकोषबाट भने आवेदन नपरेको बैंकको भनाई छ ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सबै आवेदकहरूलाई माग बमोजिम ऋणपत्र बाँडफाँट गरेको जानकारी बैंकले दिएको हो । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पुरा गरेको छ ।
प्रतिक्रिया दिनुहोस