aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘लिएको ऋणको सावाँ ब्याज तिर्छु भन्दा पनि एनआईसी एसिया बैंकले धितो राखेको जग्गा फिर्ता दिएन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ साउन २०७९

काठमाडौं । एनआइसी एसिया बैंकले ऋण लिदा धितो राखेको आफ्नो सम्पति खान खोजेको अग्नि एअरलाइन्स तथा ओरेन्टल ग्रुपका सञ्चालक सुशिल बस्नेतले आरोप लगाएका छन् । आर्थिकन्युज डटकमसंगको कुराकानीमा सञ्चालक बस्नेतले ऋण निकाल्दा धितोको रुपमा राखेको जग्गाको साँवा ब्याज तिर्न खोज्दा समेत उक्त बैंकले धितो लिलाम गर्न खाजेको बताएका हुन् । 

व्यवसायीले आफ्नो व्यवसाय विस्तारका क्रममा कहि कतैबाट ऋण लिएका हुन्छन् । व्यवसायी सुधिर बस्नेत(शुसिल बस्नेतका छोरा)ले पनि विभिन्न २०÷२१ वटा प्रोजेक्टका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका थिए । यसमध्ये धापासी हाइटमा रहेको २७ रोपनी जग्गामा हाउजिङको काम गरिरहेका बस्नेतले २४ रोपनी ९ आना जग्गा एनआइसी एसियामा धितो राखेर ऋण लिए । 

‘आजभन्दा १० वर्ष अघि धापासिमा सुधिरले हाउजिङ चलाइरहेका थिए । त्यसक्रममा ओरियन्टल को–अपरेटिभ सहकारीमा समस्या आएकोले सुिधरले राम्ररी काम गर्न पाएन’, सुधिर बस्नेतका बुवा सुशिल बस्नेतले भने, ‘सुधिर १७/१८ महिना जेल समेत जानु पर्यो । सहकारीमा समस्या आएपछि धापासीमा रहेको २४ रोपनी ९ आना जग्गा एनआइसी एसिया एसिया बैंकमा धितो राखेर १४ करोड ऋण लिएको थियो । उक्त ऋणको सावा ब्याजसमेत तिर्न खोज्दा पनि बैंकले फिर्ता दिन मानेन ।’

उनका अनुसार सुधिर बस्नेतले बैंकबाट १४ करोड ऋण लिएकोमा सावा ब्याज सहित गरेर २४ करोड रुपैयाँ पुगेको छ । त्यो पैसा तिर्छु भन्दा बैंकले बोर्डले मानेन भन्दै लिलाम प्रक्रियामा लगेको छ । सो जग्गाबारे अहिले सर्वोच्च अदालतमा समेत मुद्दा चलिरहेको छ । 

त्यस क्षेत्रमा अहिले पर आना जग्गाको मूल्य ४५ देखि ५० लाख रुपैयाँ मूल्य रहेको छ । त्यस ठाउँमा बस्नेतको २७ रोपनी जग्गा रहेको छ । जसमध्ये २४ रोपनी ९ आना एनआइसी एसिया बैंकमा धितो राखेर ऋण लिइएको हो । धापासी हाइटको सुधिरले विभिन्न व्यक्तिलाई बेचेको जग्गामा एनआइसि एसिया बैंकको गिद्धे नजर भएको आरोप लगाउँदै बस्नेतले भने, ‘त्यस जग्गामा सुधिर बस्नेतले ३५ करोडभन्दा बढी लगानी समेत गरेका छन् । त्यहाँ बिल्डिङ निर्माण, स्विमीङ पुल, बाउन्ड्रि वाला निर्माणसम्म गरेका छन् । अहिले त्यहाँ दुई अर्ब रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति रहेको छ । लिएको ऋणको सावाँ र ब्याजसहित गरेर तिर्छौ भन्दा पनि एनआइसी एसिया बैंकले दादागिरी देखाउन खोज्यो ।’ 

साथै साँवा व्याज तिर्छु भन्दा समेत दुई अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति एनआइसी एसियाले एकलौटी गरेर खाइदिन खोजेको बस्नेतको आरोप छ । बैंक पनि साथी पनि भन्ने बैंकले नै ऋणीले ईमान्दार भएर सावाँ ब्याज तिर्छु भन्दा समेत ऋणीलाई रेट्ने काम गरेको उनको भनाई छ । 

‘चक्रपथ नजिक हाइटमा रहेको मेरो जग्गा सबैले हेरे हुन्छ । त्यहाँ कति मूल्यको जग्गा छ भनेर देख्न सकिन्छ । र, त्यसपछि कस्ले अन्याय गरेको छ र को अन्यायमा परेको छ सबै राम्ररी थाहा हुन्छ ।’

बैंकप्रति आक्रोस हुँदै व्यवसायी बस्नेतले भने, ‘एनआइसी एसिया बैंक भनेको खत्तम बैंक हो । यसले धेरै मानिसहरुलाई रोडमा ल्याइसकेको छ । यस बैंकले प्राइम प्राइम लोकेसनमा रहेको व्यवसायीहरुको सम्पत्ति लिलाम गरेर यनीहरुलाई छिन्नभिन्न बनाइसकेको छ ।’ सुधिर बस्नेतले करोड ऋण लिएको ठाउँमा अर्बौको सम्पत्ति हड्प्ने एनआइसी एसिया बैंकले भोलीका दिनमा अरुको पनि सम्पत्ति सहजै खाइदिने उनको आरोप रहेको छ । 

लामो समयदेखि त्यस जग्गाबारे अदालतमा मुद्दा जारी रहेको छ । तर, फैसला हुन सकेको छैन । लामो समयसम्म मुद्दामा फैसला नहुनुमा आफूलाई न्यायपालिकाले अल्झाएर न्याय नदिन खोजेको बस्नेतले आरोप लगाए । न्यायपालिकाले धितो राखेको जग्गा भएको ठाउँमा गएर हेर्ने हो भने बैंकले गरेको बदमासी छर्लङ्ग देखिने बस्नेतको भनाई छ । 

उता, एनआइसी एसिया बैंकका ऋण शाखा प्रमुख अर्जुन खनियाले समयमा ऋण नतिरेपछि जग्गा लिलाम प्रक्रियामा गएको जिकिर बताए । उनले आर्थिकन्युज डटकमसंग भने, ‘सुधिर बस्नेतले १० वर्षअघि जग्गा धितोमा राखेर एक वर्षका लागि ऋण लिईएका थिए । एक वर्षको अवधिका लागि जग्गा धितोमा राखेर ऋण लिएका उनले तोकिएको समयमा ऋण तिरेनन् । तोकिएको समयमा ऋण नतिरेपछि हामीले जग्गा लिलामी लगेका हौं ।’ 

१० वर्ष अघि जग्गाधितो राखेर ऋण लिएका कारण त्यति बेलाकै जग्गाको मूल्य अनुसार लिलाम प्रक्रियामा गएको प्रमुख खनियाको भनाई छ । यसबारे अहिले अदालतमा मुद्दा समेत चलिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस