
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम महिना अर्थात असारमा वाणिज्य बैंकहरुमा उल्लेख्य मात्रामा निक्षेप आएको छ । यस महिना बैंकहरुमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ महिनाको अन्तिम दिन ३१ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार मसान्तसम्म आइपुग्दा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । जुन यस अवधिमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप बैकिङ प्रणालीमा आएको हो ।
असार महिनाको सुरुवातदेखि नै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आएको देखिन्छ । यस महिनाको पहिलो हप्तासम्म ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा दोस्रो हप्ता आइपुग्दा ४ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९८ अर्ब रुपैया पुगेको छ ।
त्यस्तै, असार १७ गतेसम्म ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो भने असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको थियो । असार २४ गतेदेखि ३२ गतेसम्म ४७ अर्ब रुपैयाँले बढेर वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।
यता, असार महिनामा कर्जा प्रवाह भने घटेको छ । जेठ मसान्तको तुलनामा असार महिनामा १८ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । जेठ ३१ गतेसम्म वािणज्य बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह १८ अर्ब रुपैयाँले घटेर असार ३२ गतेसम्म आइपुग्दा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस