
काडमाडौं । असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नेपाल एसबीआई बैंक लिमिटेडको ऋणपत्र खरीदका लागि आवेदन दिने साउन ४ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले ५ वर्षे अवधिको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो ।
बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४० प्रतिशत अर्थात रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई बिक्रीमा ल्याईएको हो । सामूहिक लगानीकोषबाट भने बैंकको ऋणपत्र खरीदका लागि आवेदन नपरेको बैंकको भनाई छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस