aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

रोकिएला है तपाईंको बैंक खातामा भएको पैसा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
रोकिएला है तपाईंको बैंक खातामा भएको पैसा ?

काठमाडौं। तपाईंले बैंक खाता खोलेर लामो समय नचलाई बस्नुभएको त छैन ? त्यसो भए तत्काल नै गएर सक्रिय पार्नुहोस् । ६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन ।
हाल भूकम्पपीडितको खातामा यस्तै समस्या देखिएको छ । भूकम्पपीडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेपछि पहिलो किस्ता बैंक खातामा जम्मा हुने गर्छ । तर, लाभग्राहीको बैंक खाता नै निष्क्रिय रहेपछि समस्या देखिएको छ । यस्तो समस्या पहिलो किस्ता लिनेको हकमा मात्र नभएर कतिपयको दोस्रो र तेस्रो किस्ता लिनेमा समेत देखिएको छ ।
प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेका लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न अनुरोध गरेको छ ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निष्क्रिय भएको बताए ।
प्राधिकरणले आफ्नो बैंक खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न लाभग्राहीसँग आग्रह पनि गरेको छ ।

प्राधिकरणले समयमै खाता सक्रिय नगर्नेहरूको हकमा प्राधिकरणले खाता निस्क्रिय पार्ने चेतावनीसमेत दिएको छ ।
यसअघि, प्राधिकरणले निजी आवास पुनर्निर्माणअन्तर्गत लाभग्राहीमा परेका भूकम्पपीडितलाई २१ असारसम्म अनुदान सम्झौता गर्न समय तोकेको थियो । समयसीमाभित्र सम्झौता नगर्ने ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका थिएनन् भने प्राधिकरणले उनीहरूलाई सूचीबाट हटाएको छ ।
यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने भूकम्पपीडित पनि लाभग्राहीको सूचीबाट हटेका छन् । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने ५ हजार ५४० लाभग्राही सूचीबाट हटेका हुन् ।
प्राधिकरणले गत साउन पहिलो साता निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा समावेश भएर २१ असार २०७६ सम्म सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नलिने ६२ हजार ८४९ भूकम्पपीडितलाई लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको थियो ।

महाभूकम्प २०७२ बाट क्षति पुगेका ६ लाख घरको पुनर्निर्माण सुरु भएको छ । प्राधिकरणका अनुसार ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् । प्राधिकरणले निजी आवासमा ८३ प्रतिशतभन्दा बढी प्रगति भएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस