aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फरार भनिएका गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
फरार भनिएका गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आए

काठमाडौं । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सम्पर्कमा आएका छन् । फरार भनिएका यस सहकारीका सञ्चालक तथा अध्यक्ष रामबहादुर गौतम सम्पर्क आएका हुन् । 

२ हजारभन्दा बढि बचतकर्ता रहेको गौतमश्री सहकारीका सञ्चालक केही दिनअघिदेखि सम्पर्क विहिन भएको बचतकर्ताहरुले बताएका छन् । अध्यक्ष गौतम फरार भएपछि त्यस सहकारीका बचतकर्ताहरु दिनहुँ कार्यालयमा धर्ना दिईरहेका छन् । त्यत्तिमात्रै होइन एभरेष्ट बैंकले उक्त सहकारी रहेको भवनमा सूचना टाँसी सिल समेत गरिसकेको छ । 

उता सहकारीका सञ्चालक तथा अध्यक्ष रामबहादुर गौतमले भने आफू फरार नभएको दावी गरेका छन् । उनले एक सूचना जारी गर्दै आफू विशेष परिस्थितिका कारण भारतको नयाँ दिल्लीमा रहेको बताएका छन् । 

‘मेरो विशेष परिस्थितिको कारण साउन ६ गते घरबाट बाहिर गएको थिए । केही कामको शिलशिलामा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेको छु । बाटोमा मेरो मोबाइल समेत हराएकोले संस्था र घरमा सम्पर्क गर्न सकिन । साउन १६ गतेसम्ममा काठमाडौं पुग्नेछु र पहिलेकै अवस्थामा संस्था सञ्चालन हुने विश्वास दिलाउँछु’, उनले लेखेको पत्रमा भनिएको छ । 

यता, गत शुक्रबारसम्म सहकारीका म्यानेजरहरु अध्यक्ष गौतमको सम्पर्कमा रहेको जानकारी आफूहरुले पाएको सो सहकारीका एक बचतकर्ता बताउँछन् । उनले आर्थिकन्युज डटकमसँग दुखेसो पोख्दै भने, ‘गत शुक्रबार बिहानसम्म उक्त सहकारीका म्यानेजरहरु हाम्रो सम्पर्कमा थिए । तर, सोही दिन दिउँसोतिर एकाएक म्यानेजरहरु समेत सम्पर्क बिहिन भए । दिउँसो तिर त एभरेष्ट बैंकले भवन नै शिल गर्यो । त्यसपछि हामीले ठगीमा परेको थाहा पायौँ ।’

उक्त सहकारीमा २ हजारभन्दा बढि बचतकर्ताको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएको बताइएको छ । बचतकर्ताको उक्त रकम फिर्ता नगरी भागेको भन्दै पीडित बचतकर्ताहरुले सहकारी विभागमा उजुरी समेत दिएका छन् । उक्त सहकारीका बचतकर्ताले समेत विषेशपरिस्थितिका कारण सहकारी संकटमा परेकाले अब राज्यले पनि उक्त सहकारीलाई सञ्चालन हुन दिनुपर्ने धारणा राखेका छन् । 


 

प्रतिक्रिया दिनुहोस