
काठमाडौं । फरार भनिएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका हुन् ।
हजारौं बचतकर्ता रहेको गौतमश्री सहकारीका सञ्चालक केही दिनअघि सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले आन्दोलनदेखि सहकारी विभागमा उजुरी समेत दिएका छन् । अध्यक्ष गौतम फरार भएपछि त्यस सहकारीको कार्यालय रहेको भवनमा एभरेष्ट बैंकले सूचना टाँसी सिल समेत गरिसकेको छ ।
सहकारीका सञ्चालक तथा अध्यक्ष रामबहादुर गौतमले भने आफू फरार नभएको दाबी गरेका छन् । आफू विशेष परिस्थितिका कारण भारतको नयाँ दिल्ली गएको जनाएका छन् । गौतमले कम्पनीको काम विशेषले नेपाल बाहिर गएको र मोबाइल सम्पर्क नभएको अवस्था रहेकाले आफु आफू बचतकर्ताको रकम नभागेको दाबी गरेका छन् । साथै उनले आफू नेपाल फर्किसकेकोले सहकारीको समस्या समाधानमा लागिसकेको उनले जनाएका छन् ।
उनले विज्ञेप्तिमा भनेका छन्, ‘संस्थाबाट प्रवाह गरिएको सम्पुर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएता पनि म आम बचतकर्ताहरुलाई बिनम्रताका साथ आग्रह गर्दछु की म तपाइहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन । म तपाइहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेर भएपनि केहि महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस