काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट प्रभावित बनेकाहरूको पाउँदै आएको कर्जा सुविधा हटाएको छ । राष्ट्र बैंकले बुधवार मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जा मध्ये कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान गरिएको ऋणको परियोजना वा व्यवसायमा परेको असरको मूल्याङ्कन गरी १० प्रतिशत रकम असुल गरी कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गरिने व्यवस्था रहेको थियो । तर, राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था हटाएको हो ।
कोरोनाका कारणले बैंक तथा वित्तीय संस्थाले एक पटकका लागि उपलब्ध गराउँदै आएको ग्रेस अवधि पनि हटेको छ । त्यस्तै, कोरोनाबाट अति प्रभावित पर्यटन, चलचित्र, पाटी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रका ऋणीबाट पाँच प्रतिशत रकम असुल गरी २०७८ पुस मसान्तभित्र कर्जा पुनर्तालिकीकरण गर्ने समयावधि दिइएको थियो ।
कोरोनाबाट विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीहरूलाई प्रदान गरिँदै आएको कर्जा समेत हटाइएको छ । यस्तै, राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्दा लिइने कर्जामा २ प्रतिशत विन्दुसम्म व्याज थप हुने भएको उल्लेख छ ।
निर्देशिकामा भनिएको छ, ‘निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नु पर्ने छ ।’
प्रतिक्रिया दिनुहोस