
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कुमारी बैंक लिमिटेडले रू. २ अर्ब ८३ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा करिब ४४ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. १ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा ३२ दशमलव ६८ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू.३ अर्बभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. ३ अर्ब ९८ करोडभन्दा बढी यो नाफा गरेको हो । चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ७७ करोडभन्दा बढी रहेको छ ।
हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी बृद्धि गरेको हो । शेयर प्रिमियममा रू. ८ करोड ८८ लाखभन्दा बढी रहेको बैंकको रिटेन्ड अर्निग रू. १ अर्ब ७७ करोडभन्दा बढी रहेको हो । बैंकको जगेडा कोष रकम रू. ४ अर्ब ६१ करोडभन्दा बढी कायम भएको छ ।
बैंकले अघिल्लो वर्षभन्दा २१ दशमलव २१ प्रतिशत बढी रू. १ खर्ब ७६ अर्ब ७६ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ । ११ दशमलव २२ प्रतिशत बढी रू. १ खर्ब ५३ अर्ब ३६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्र्ष शून्य दशमलव ९६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष पनि शून्य दशमलव ९६ प्रतिशतनै कायम भएको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव शून्य १ रहेको छ ।
प्रतिक्रिया दिनुहोस