aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी डुब्नुमा दोष कसको, नियामक निकाय कि सञ्चालक ?

  • रिता राउत
    रिता राउत
  • विहीबार, १९ साउन २०७९
सहकारी डुब्नुमा दोष कसको, नियामक निकाय कि सञ्चालक ?

काठमाडौं । केही दिनअघि काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक निक्षेपकर्ताको अर्बौँ रुपैयाँ कुम्ल्याएर भागेको घटना बाहिरियो । देशका चर्चित घरजग्गा व्यापारी तथा सिभिल ग्रुपका पूर्व अध्यक्ष इच्छाराज तामाङ बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जेलमा छन् । 

उता, धरानमा सहकारी सञ्चालकहरूले बचतकर्ताको पैसा खाएर भागेपछि नवनिर्वाचित मेयर हर्क साम्पाङलाई त्यो घटनाले सकसमा पारेको छ । यसअघि पनि ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पैसा डुबाइदिने सहकारी सञ्चालकको पर्याय नै बनिसकेका छन् ।

अब प्रश्न उठ्छ, खासमा यसरी सहकारीहरूले बचतकर्ताको रकम डुबाएर समस्यामा पार्नुको खास कारण के हो ? यस्ता घटनाहरू बारम्बार दोहोरिनुमा को के कारणले दोषी छ ? 

यसको जवाफ मिश्रित ढङ्गको पाइएको छ । कोही सरकारी सञ्चालकहरूको नियत र महत्वकांक्षालाई कारक मान्छन् त कोही भने सरकारी निकायको फितलो नियमन नै यसको लागि दोषी ठान्छन् । 

सहकारी समस्यामा पर्नुको पहिलो कारण सहकारी सञ्चालकहरू नै रहेको सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘सहकारी सञ्चालकहरू बढी महत्त्वाकाङ्क्षी बन्दा सहकारीहरू बढी समस्यामा पर्ने गरेको छ । सहकारीका सञ्चालकहरूले एकै पटक धेरै पैसा कमाउन खोज्दा यस्ता घटना हुने गरेका हुन् ।’ 

सञ्चालकबाहेक सहकारीका सदस्यहरूको समेत दोष रहेको उपाध्यायको भनाई छ । उनका अनुसार सहकारीका सदस्यहरूले आफ्नो सहकारीको अनुगमन तथा निगरानी नगर्ने गरेका कारण पनि सहकारी समस्यामा पर्ने गरेका छन् ।

सहकारीको नीतिभन्दा बाहिरको बाटोमा यात्रा गरेका कारण सहकारीमा समस्या देखिने गरेको उनको दाबी छ । ‘सहकारीका सञ्चालक तथा व्यवस्थापकहरू बढी आकाङ्क्षी नहुने हो भने सहकारी समस्यामा पर्दैन । त्यससँगै सहकारीका सदस्यहरूले पनि सहकारी संस्थाले के गर्दै छ, कतातिर जादैछ, समस्यामा पर्दै पो छ की भनेर निगरानी गर्न आवश्यक छ’, उपाध्यायले भने ।  

तर, काठमाडौं महानगरपालिका अन्तर्गतका सहकारी संस्थालाई नियमन गर्ने निकाय सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेल भने सञ्चालकलाई दोषी त देखाउँछन् तर नियतमाथि शंका गदैनन् । उनी भन्छन्, ‘सहकारीका सञ्चालकहरूमा सहकारीबारेको ज्ञानको नै कमी छ । देखासिखिमा सहकारी खोल्छन् । तर, व्यवस्थापन गर्न सक्दैनन् । अनि भाग्छन् ।’ 

पोखरेल सहकारी नियमन गर्ने निकायहरुको समेत कमजोरी रहेको स्विकार्छन् । उनी भन्छन्, ‘सहकारी नियमन गर्ने निकायमा पर्याप्त कर्मचारी नै छैनन् । न त सरकारले दिनु पर्ने जति चासो नै दिएको छ । त्यसो हुँदा सञ्चालकहरूमा गल्ती गर्ने आँट बढेको पाइन्छ ।’  

सहकारीको नियमन गर्ने निकाय बलियो नहुँदा सहकारीमा विकृति फैलिएको भन्ने कुरामा भने उपाध्याय सहमत छैनन । ‘कतिपयले सहकारीको नियमन गर्ने निकाय बलियो नभएको कारण सहकारीमा विकृति फैलियो भन्दै दोष दिने गरेका छन् । तर, त्यस्तो होइन । बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गरे जस्तो सहकारीलाई नियमन गर्ने भन्ने हुँदैन’, उनी अगाडी थप्छन्, ‘सहकारीको नियन्त्रण नियमनको सरकारले नीति नियम बनाइदिएको छ । त्यही अनुसार नियमन तथा नियन्त्रण भइरहेको छ । सहकारीहरू पनि त्यही नीति अनुसार चल्नु पर्छ ।’ 

अर्थविद् डा. हरि रोक्का भने सहकारीले बचतकर्ताको पैसा लिएर भागेको घटना नौलो नभएको बताउँछन् । उनी भन्छन्, ‘सहकारी समस्याग्रस्त हुने घटना अहिले मात्रै भएको होइन । विगत २०/२५ वर्षदेखि नै सहकारी संस्थाहरूमा समस्या आइरहेका छन् । सहकारीका सञ्चालक पैसा लिएर फरार भएका उदाहरणहरू प्रशस्तै छन् ।’          

उनले नियमनको अभावका कारण सहकारी समस्यामा पर्ने गरेको बताए । रोक्काले आर्थिक न्युजसँग भने, ‘सहकारी समस्यामा आउनुको पछाडि नियमनको अभाव रहेको छ । सहकारीको नियमन कसले गर्ने भन्ने कुरा नै स्पष्ट छैन । सहकारी विभागले नै पनि प्रभावकारीरुपमा सहकारीको नियमन गर्न सकेको छैन ।’  

सहकारीलाई नियमन गर्नका लागि दह्रो संस्था खडा नगरेसम्म यस्ता विकृतिका घटना बाहिर आइराख्ने उनको धारणा छ । ‘बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने राष्ट्र बैंक भएजस्तै सहकारी नियमन गर्नका लागि छुट्टै दह्रो संस्था हुन आवश्यक छ’, रोक्काले भने ।  

त्यस्तै, राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कंडेल पनि सहकारी संस्थालाई नियमन गर्ने निकायको अभाव खड्किएको स्वीकार्छन् । ‘तीन तहको सरकारले सहकारीको नियमन गर्छ । केन्द्रको निकायले सबैतिरको सहकारी नियमन गर्न पर्याप्त मात्रामा सकेको छैन । प्रदेश र स्थानीय तहले नियमनको लागि पुरा अधिकार र पर्याप्त कर्मचारी पाएका छैनन । यसले गर्दा हामीलाई पनि सहकारीको नियमन गर्ने निकायको अभाव खड्किएको पक्कै छ ।’ 

साथै उनले तरलता संकटसंगै नीति नियम विपरित सहकारी चल्न खोज्दा समस्यामा पर्ने गरेको बताए । उनले भने, ‘करिब एक वर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिएको छ । सबै सहकारी समस्यामा त छैन तर, केहि सहकारीहरु सहकारीको नीति नियम विपरित चलेका कारण पनि समस्यामा परेका छन् ।’ 

नीति नियम विपरित गलत ढंगले चलेका सहकारीलाई सरकारले नियमन गर्नु पर्ने उनको भनाई छ । ‘कतिपय सहकारीहरु गलत ढंगले पनि चलिरहेका हुन्छन् । उनीहरुलाई नियमन गर्ने निकायको अभाव छ । नियमन गर्ने निकायले नियमितरुपमा अनुगमन गर्ने हो भने यस्तो समस्या आउँदैन’, अध्यक्ष कंडेलले भने ।  

प्रतिक्रिया दिनुहोस