aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘पारिवारिक ढङ्गले चलेका सहकारी समस्यामा परेका हुन्, अरू होइनन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ साउन २०७९
‘पारिवारिक ढङ्गले चलेका सहकारी समस्यामा परेका हुन्, अरू होइनन्’

हाल करिब ३० हजारको हाराहारीमा नेपालमा सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् । सहकारी संस्थाहरूलाई नेपाल सरकारले अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा राखेको छ । नेपालको आर्थिक विकासमा खम्बाका रूपमा मानेको सहकारी संस्थाहरूमा पछिल्ला दिनहरूमा समस्या आउन थालेका छन् । आन्तरिक व्यवस्थापन तथा सहकारीको बचत परिचालनमा समस्या आएपछि सहकारी नै समस्याग्रस्त अवस्थामा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । सहकारी संस्थाहरू एकपछि अर्को गर्दै समस्यामा पर्नुको कारण लगायत विषयमा राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष मीनराज कँडेलसँग आर्थिकन्युज डटकमकी रिता राउतले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:  

अर्थतन्त्रमा समस्या देखिरहेको बेलामा सहकारीहरूको अवस्था कस्तो छ ? 

कोरोना महामारीका कारण विश्वभरिको अर्थतन्त्रमा नराम्ररी असर परेको छ । यसको असरबाट नेपाल पनि अछुतो रहन सकेको छैन । बैंक वित्तीय संस्थासँगै सहकारी संस्थाहरू पनि यसको मारमा परेका छन् । तरलताको अभाव सिर्जना भएको छ । 

कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भए । सहकारी संस्थाहरूले आफ्नो शेयर सदस्यहरूलाई दिएको ऋण उनीहरूको व्यापार ठप्प हुँदा उठ्न सकेन । सहकारीले लगानी गरेको पैसा समयमा उठ्न नसक्ने अवस्था सिर्जना भयो । यससँगै बचतकर्ताहरूले पनि महामारीका कारण आफूले बचत गरेको रकम निकालेर खर्च गर्न थाले । यसले गर्दा सहकारी संस्थाहरूमा केही समस्या सिर्जना भएको अवस्था छ । लगानी गरेको पैसा समयमा नउठेको र तरलताको चाप सहकारीलाई परेको छ । तर, हामी आत्तिनु पर्ने अवस्था छैन ।     

  

पछिल्लो समय सहकारी क्षेत्रमा समस्याहरू बढ्दो रहेको छ । ठूला सहकारीहरू धमाधम समस्याग्रस्त भइरहेका छन् । यसको कारण के हो ?  

करिब ३० हजारको हाराहारीमा रहेका सहकारी संस्थाहरूमध्ये विगतदेखि हालसम्म एक डेढ सयको संस्थाहरू समस्यामा परेका छन् । ठूला सहकारीमध्ये ओरियन्टल सहकारीले बचतकर्ताको पैसा ठूला ठूला अपार्टमेन्ट, हाउजिङतिर लगानी गर्दा समस्या परेको हो । ओरियन्टलसंगै सिभिल, गौतमश्री सहकारी संस्थाहरू जनतासँग पैसा उठाउने र त्यो पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेका कारण उनीहरू समस्यामा परेका हुन् । अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण समयमा पैसा फिर्ता नआउँदा बचतकर्ताहरूको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।  

यी तीन समस्यामा परेका ठूला सहकारी संस्थाहरू एकल ढङ्गले चलेका सहकारी हुन् । पारिवारिक ढङ्गले चलेका थिए । सहकारीका मूल्य र सिद्धान्तभन्दा केही बाहिर गएको जस्तो पनि देखिन्छ । जसले गर्दा उनीहरू समस्यामा परेको देखिन्छ । 

केही सहकारी संस्थाहरूले मुनाफा देखेर घरजग्गा लगायत स्थिर सम्पत्तिमा लगानी गरेको देखिन्छ । आर्थिक मन्दीका कारण घरजग्गा जस्ता क्षेत्र पनि समस्यामा परेका छन् यसको असर सहकारीमा पर्न गएको छ । तर, अन्तर्राष्ट्रिय स्तरका सहकारी संस्थाहरू पनि नेपालमा सञ्चालन भइरहेका छन् । सहकारीको मूल्य र मान्यता अनुसार चलेका कारण उनीहरूमा अहिलेसम्म समस्या देखिएको छैन । 

केही ठूला सहकारीहरू बढी ब्याज दिने लोभमा बचतकर्ता तानेको देखिन्छ । बढी पैसा पाइन्छ भन्ने आशमा सर्वसाधरणले पैसा राख्दा केही सहकारीहरूले उनीहरूको पैसा गलत ढङ्गले चलाएको उदाहरणहरू पनि रहेका छन् । औलामा गन्न सक्ने यस्ता सहकारीका कारण अन्य सहकारी क्षेत्रमा पनि असर देखिएको छ । 

सहकारी क्षेत्रको विकृत बढ्न नदिने सहकारीका सदस्यहरूले नियमितरुपमा आफू आबद्ध रहेको सहकारीका बारेमा चासो राख्ने काम गर्न आवश्यक छ । यसका साथै सर्वसाधरणले ब्याज बढी पाउने लोभमा सहकारी संस्थाबारे नबुझी ठूलो रकम हतारमा बचत गर्न राख्न हुँदैन । यसो गर्न सकियो भने सहकारीको विकृत कम हुन सक्छ । 

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले सहकारी संस्थाहरूलाई घरजग्गामा कारोबार नगर्न भनेको थियो । पछिल्लो समय सहकारी संस्थाहरूले धेरैजसो घरजग्गामा लगानी गरेका हुन् ?

पछिल्लो समय केही सहकारी संस्थाहरूले घरजग्गाको क्षेत्रमा नाफा हुने रहेछ भनेर लगानी गरेको देखिएको छ । यो क्षेत्र भनेको अनुत्पादक क्षेत्र हो । त्यसले गर्दा अनुत्पादक क्षेत्रमा लगानी नगर्न भनेका हौँ । बैंक वित्तीय संस्थामा केही महिनादेखि ऋण दिन सकिरहेको छैन । सहकारी संस्थाहरूले पनि यस क्षेत्रमा लगानी गर्न हुँदैन आफ्ना सदस्यहरूलाई आवश्यक परेको ऋणहरू दिनु पर्छ । त्यसबाहेक अहिले अनुत्पादक क्षेत्रमा ठूला ठूला लगानी नगर्न हामीले सबै सहकारी संस्थाहरूलाई सचेत गराएका छौँ । 

सहकारीमा नीति नियमनको अभाव रहेको देखिन्छ । यसले गर्दा पनि यस क्षेत्रमा विकृति बढेको हो ?

नीति आफैले बनेको हो । सहकारी भनेर सेल्फ रेगुलेसन हो । संविधान छ, सहकारी ऐन नियम कानुन छ, हाम्रो विनियम छ । यसैभित्र रहेर हामीले के के काम गर्ने भनेर कार्यविधि बनाएर चल्नु पर्छ । जे काम गर्छौ त्यसलाई कार्यविधिले गाइड गर्नु पर्छ । हचुवाको भरमा चलाउनु भएन । सहकारीमा सिस्टम आफैले बनाउने हो । संस्था आफैले सो अनुशासनमा बस्नु पर्छ । कतिले नियम पालना गरेका छन् भने कतिले गरेका छैनन । केहीले नियम पालना नगरी चल्दा समस्या आइरहेको छ । त्यसले गर्दा अनुगमन नियमन  गर्ने काम सरकारले गर्नु पर्छ । धेरथोर विकृतिहरू हर क्षेत्रमा हुन्छन् । केही औलामा गन्न सक्ने खालका सहकारीहरूमा विकृत आएका छन् । यसलाई हटायो भने हाम्रो सहकारी अभियान राम्ररी अगाडी बढ्न सक्छ ।

सहकारी नियमन गर्नका लागि संघीय सरकार, प्रदेश र स्थानीय तह गरेर तीन तह फरक फरक ऐन बनाएका छन् । तर, संघको ऐन  र प्रदेशको ऐन बाझिन्छ भने प्रदेशकोसंग स्थानीयको ऐन बाझिने गरेको छ । हजारौँ संस्थामा एउटै पालिकामा कर्मचारी रहेका छन् । तर, त्यसलाई नियमन गर्ने निकायमा पर्याप्त कर्मचारी छैनन । यसले गर्दा पनि समस्या भइरहेको पाइन्छ । 

नियमन गर्ने निकायले नियमित सहकारीको अनुगमन गर्ने, निरीक्षण गर्ने, प्रवर्द्धन गर्ने सुझाव दिने गर्दा सहकारीहरूमा विकृति घट्छ । हामी गलत काम गर्नेहरूलाई प्रशय दिनु पर्न भन्नेमा छैनौँ । औलामा गन्न सकिने गरी समस्यामा परेका सहकारीलाई हेरेर आत्तिनु पर्दैन ।  

सहकारीका सदस्यहरू निष्किृय जस्तो भइरहेका कारण पनि यसको फाइदा सञ्चालकहरूले उठाएका हुन् ?

तपाईँले भनेजस्तै सहकारीका सदस्यहरू निष्किृय पक्कै भएका छन् । उनीहरू निष्किृय बन्दा केही सहकारीका सञ्चालकहरू बदमासी गर्ने मौका पाएका छन् । र, उनीहरूले संस्था समस्याग्रस्त घोषणा पनि गरिएको छ । सहकारी संस्थाबाट सेवा उपभोग गर्ने र संस्थाप्रति पुरा गर्नु पर्ने जिम्मेवारी पुरा गर्ने व्यक्ति सहकारी संस्थाको सदस्य हुनु पर्न भनिन्छ । तर, कतिपय यस्ता निष्किृय सदस्यहरूका कारण पनि सहकारी संस्थामा समस्या आएको छ । सहकारीका सदस्यहरूले आफू संस्थामा रहेको सहकारीले के काम गरिरहेका छ, कता लगानी गरिरहेका छ भनेर हेर्ने गल्ती गर्दै छ भने सच्याउने गरिदिने हो भने सहकारीमा यस्तो समस्या आउँदैन । 

सहकारीको संस्थागत सुशासनमा कमजोरी देखिएको छ । यसो किन भइरहेको छ ? 

सहकारीको संस्थागत सुशासनमा कमजोरी देखिएको भन्दा पनि केही सहकारी नीति नियम अनुसार चल्दैनन् त्यसले गर्दा विकृतिहरू आएर समस्या भएका छन् ।  पैसा उठाउने अनि आफ्नो सिस्टम भन्दा बाहिर गएर आफूखुसी लगानी गर्ने गरेका छन् । यस्तो विकृतिलाई हटाउनका लागि नियमन निकायले ध्यान दिनु पर्ने हुन्छ । 

कतिपय सहकारीहरूले पनि राम्रा काम गरिरहेका छन् । हाम्रा सहकारीहरू उद्यमशीलतामा लागेका प्रशस्तै उदाहरणहरू छन् । धेरै सहकारीहरू उत्पादनसँग जोडिएर चिया कफी लगायत कृषि उत्पादन गरेर विदेश समेत निर्यात गर्ने काम पनि गरिरहेका छन् । 

हामीले सहकारी आफैले व्यवसाय नगर आफ्नो सदस्यहरूलाई व्यवसायी बनाऊ भनेर पनि लागिरहेका छौँ । बचतकर्ताहरूको पैसा बचतकर्ताहरूलाई नै ऋण दिएर उनीहरूलाई व्यवसायी बनाउन पनि कतिपय सहकारी संस्थाहरू लागि परेका छौँ । स्वास्थ्य जाँचको लागि आर्थिक सहयोग पनि सहकारीहरूले गरिरहेका छन् । राज्यले गर्न नसकेका कृषिको क्षेत्रमा सहरकारीले काम गरेका छन् । ठूलो सङ्ख्यामा सहकारी संस्थाहरूले रोजगारी दिएका छन् । राम्रो ढङ्गले काम गरिरहेका सहकारीहरू थुप्रै छन् । तर, एकाध सहकारीहरूले सहकारीको मूल्य सिद्धान्तभन्दा बाहिर काम गर्दा सबै सहकारी क्षेत्रमा केही मात्रामा नराम्रो भ्रम फैलिएको हो । 

राज्यले अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा सहकारीलाई राखेको छ । सहकारीलाई अर्थतन्त्रको खम्बा माने पनि सरकारले नै राम्रोसँग नहेरेको जस्तो देखिन्छ । किन यस्तो भइरहेको छ ?  

अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा राख्ने विश्वमा नै पहिलो नेपाल रहेछ । नेपालपछि आफ्नो संविधानमा इरानले राखेको रहेछ । तर, हाम्रो सरकारले सहकारीलाई तेस्रो खम्बाको रूपमा राखे पनि हाम्रो आशा, अपेक्षा अनुसार काम गरेको छैन । छिमेकी देशकै कुरा गर्ने हो भने उत्पादनको क्षेत्रमा सहकारीलाई ठूलो मात्रामा सहयोग गरिरहेका छ । तर, नेपाल सरकारले भने त्यस्तो गर्न सकिरहेको छैन । कानुन, संविधानमा सहकारीलाई तीन खम्बे अर्थनीति भन्दियो तर, सहकारीलाई प्रवर्द्धन गर्न सरकारले साथ सहयोग गरेको छैन । 

हामी आफै आफै नै अगाडी बढिरहेका छौँ । आफ्नो सहकारी भित्रकै पुँजी, जनशक्ति परिचालन गरेर अगाडी बढिरहेका छौँ । आजका दिनमा हामी ७३ लाख भन्दा बढी सदस्यहरू रहेका छौँ । सात खर्बभन्दा बढी पुँजी परिचालन गरिरहेका छौँ । लाखौँ मानिसहरूलाई रोजगारी समेत दिइरहेका छौँ । सरकारले हामीलाई साथ सहयोग गर्ने हो भने सहकारीले अझै धेरै काम गर्न सक्छ ।  

सहकारीको विकृति नियन्त्रण गर्न कसले कस्तो भूमिका खेल्न आवश्यक छ ?

नियमनकारी निकायले आफ्नो क्षेत्रमा रहेका सहकारीहरूको नियमित अनुगमन तथा निरीक्षण गर्नु पर्छ । केही गलत काम गर्न लागेको भए सच्याउन सुझाव दिनु पर्छ । हामी महासंघले सहकारीको तालिम शिक्षाको माध्यमबाट सहकारीको दायित्व पुरा गर्न सुझाव दिइरहेका छौँ । सहकारीका सदस्यहरू पनि आफ्नो संस्थामा नियमित सम्पर्कमा रहनु पर्छ । सञ्चालकहरू पनि सहकारीको मूल्य र मान्यता अनुसार अगाडी बढ्नु पर्ने हुन्छ । 

वास्तवमा सहकारी क्षेत्रमै लागेका संस्थामा सञ्चालक समिति, लेखा समितिका सदस्य, कर्मचारी, व्यवस्थापकहरूले आफ्नो दायित्व पुरा गर्नु पर्नै पर्छ । जनताले खाई नखाई जम्मा गरेको पैसाको सुरक्षा दिने, प्रतिफल दिने काम बोर्ड म्यानेजमेन्टको हो । जनताको पैसा सुरक्षा गर्ने काम सहकारी बोर्ड र म्यानेजमेन्टको हो, त्यहाँ टेकेर रजाइँ गर्ने काम होइन ।

हामी राज्यका परिपूरक हौ, प्रतिस्पर्धी होइनौँ । मुलुकलाई समृद्ध बनाउने, जनताको जीवनस्तर उकास्ने काम राज्यले गर्नु पर्ने हो । त्यसको सहयोगी सहकारी क्षेत्र हो । यसले गर्दा सहकारीलाई सरकारले साथ सहयोग गर्नु पर्छ । अन्य मुलुकको जस्तै हाम्रोमा पनि सरकारले सहकारीलाई साथ सहयोग गर्ने हो भने हामी धेरै नै गर्न सक्छौँ । सहकारी क्षेत्रले ठूलो योगदान गरिदिएको छ ।  

सहकारीको अहिले दायर असाध्यै ठूलो छ । यसले धेरै नै गर्न सक्छ । आम मानिसको जीवनस्तर उकास्नको लागि मूल माध्यम नै सहकारी हो । आम मानिसको जीवनस्तरसंगै मुलुकलाई बदल्ने अभियान सहकारी हो । यसले गर्दा सहकारीको असाध्यै ठूलो महत्त्व छ  । त्यही अनुसार हामी सबै अगाडी बढ्नु पर्छ  । 

 

प्रतिक्रिया दिनुहोस