
काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप घट्नेक्रम जारी छ । नयाँ अािर्थक वर्षमा निक्षेप वृद्धि हुन्छ भन्ने आम अपेक्षा विपरित घट्ने क्रमले तीन सातासम्म निरन्तरता पाएको हो ।
अघिल्लो साता २८ अर्ब रुपैयाँले घटेको निक्षेप यो साता ४ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । तर, यसबीच बैंकहरुले प्रवाह गरेको कर्जा भने अघिल्लो साताको तुलनामा २ अर्ब रुपैयाँले बढि छ ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन १३ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप तेस्रो सातासम्म अर्थात साउन २० गतेसम्म आइपुग्दा ४ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सिमित बनेको हो ।
त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । साउन १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेर साउन २० गतेसम्म आइपुग्दा ४१ खर्ब ६६ अर्ब रुपैयाँमा पुगेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस